शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रधानमन्त्री कार्कीद्वारा तीन मन्त्री सिफारिस

सोमवार , भाद्र ३०, २०८२

काठमाडौँ,३० भदौ – अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारको प्रक्रिया अघि बढाउँदै तीन जना व्यक्तिलाई मन्त्रीका रूपमा सिफारिस गर्नुभएको छ । राष्ट्रपति कार्यालयले पुष्टि गरेअनुसार अर्थ मन्त्रालयको नेतृत्व पूर्वसचिव रामेश्वर खनाललाई, ऊर्जा, जलस्रोत, सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी प्राविधिक दक्षता र व्यवस्थापकीय क्षमताका कारण चर्चित कुलमान घिसिङलाई तथा गृहमन्त्रालयको नेतृत्व कानुन व्यवसायमा ख्यातिप्राप्त अधिवक्ता ओमप्रकाश अर्याललाई दिने प्रस्ताव गरिएको हो ।

मन्त्रीपरिषद् विस्तारको तयारीका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी अभियानसँगै विभिन्न सरोकारवाला समूहहरूसँग निरन्तर छलफल र परामर्श गरिरहनुभएको छ । प्रधानमन्त्री पदभार ग्रहण गरेको पहिलो दिनमै उहाँले सिंहदरबारस्थित कार्यलयमा प्रमुख अभियानकर्मी र विज्ञहरूसँग भेटवार्ता गरी सरकारको स्वरूप र प्राथमिकताबारे राय संकलन गर्नुभएको थियो ।

यसरी नियुक्तिका लागि सिफारिस गरिएका व्यक्तिहरू प्रशासनिक, प्राविधिक र कानुनी पृष्ठभूमिबाट आएका हुन्, जसलाई जनआन्दोलनपछिको अस्थिर परिस्थितिमा जनताको विश्वास जित्ने र पारदर्शी शासन कायम गर्ने प्रयासका रूपमा व्याख्या गरिएको छ । राजनीतिक दलहरूको लामो असहमति र अविश्वासबीच नागरिक समाज र जेनजी पुस्ताको आकांक्षा अनुसार छानिएका यी नामहरूले नयाँ सरकारको स्वरूपबारे अपेक्षा र उत्सुकता बढाएको देखिन्छ ।

प्रतिक्रिया