काठमाडौं,२९ भदौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निरन्तर असन्तुष्टि व्यक्त गर्दै आउनुभएकी नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अन्ततः पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । उहाँले सार्वजनिक रूपमा आफ्नो कदमको जानकारी दिँदै अब आफूलाई निशाना बनाउन चाहनेहरूले खुला रूपमा गर्न सक्ने वातावरण मिलाइदिएको बताउनुभयो । “मनलागी चलाउनेलाई सजिलो होस् भनेर मैले पार्टी छोडेँ,” भन्दै उनले नेतृत्वप्रतिको आक्रोश पोख्नुभयो ।
श्रेष्ठले पार्टी नेतृत्वलाई पटक–पटक गल्ती गर्दै पनि कहिल्यै त्यसको जिम्मेवारी नलिने, बरु आलोचना गर्ने आवाजलाई दबाउने प्रवृत्ति रहेको आरोप लगाउनुभयो । उहाँका अनुसार रास्वपाभित्र आलोचना गर्ने कार्यकर्तामाथि ‘मिडिया ट्रायल’ गरेर प्रताडित गर्ने र नेतालाई सर्वोच्च स्थानमा राख्ने प्रवृत्ति जरा गाडिसकेको छ । यही कारणले उहाँले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेता राख्ने अभ्यासलाई अस्वीकार गर्दै बाहिरिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ ।
यसअघि उहाँे सह–महामन्त्री पद त्याग गर्नुभएको थियो, , सांसद भएकोले पार्टीको काम गर्न् समय दिन नसक्ने कारण देखाउँदै आउनुभएको थियो । समानुपातिकतर्फबाट संसदमा प्रवेश गर्नुभएको उहाँ प्रचण्ड सरकारमा शिक्षामन्त्रीसमेत बन्नुभएको थियो ।
हालै सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् गठन हुने क्रममा उहाँको नाम मन्त्रीको रूपमा चर्चामा आए पनि उहाँले आफू कुनै दौडमा नरहेको प्रस्ट्याउनुभएको थियो । जेनजी आन्दोलनपछि निरन्तर विद्रोहीहरूसँग सम्पर्कमा रहनुभएको उहाँले प्रधानमन्त्री कार्कीको शपथग्रहण समारोहमा समेत उपस्थित रहँदै राजनीतिक रूपमा सक्रियताको संकेत दिनुभएको थियो । यसरी उनको पार्टी परित्यागले रास्वपाभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमै थप चर्चा र तरंग ल्याएको छ ।