शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

माओवादी नेताहरूको चेतावनीः ‘यो नेतृत्वले त पार्टी डुबाउँछ’

आइतवार , भाद्र २९, २०८२

काठमाडौँ,२९ भदौ – नेकपा (माओवादी केन्द्र) भित्र अहिले नेतृत्व परिवर्तनको बहस खुलेर अघि बढ्न थालेको छ । केही महिनाअघि स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएको विषय तत्काल दबिए पनि, अहिलेको राजनीतिक परिदृश्यले यो बहसलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार बनेको र संसद विघटनसँगै फागुन २१ गतेका लागि निर्वाचन मिति तोकिएपछि माओवादीभित्र भविष्यको नेतृत्व कसरी तय गर्ने भन्ने प्रश्न प्रमुख बनेको छ । धेरै नेताहरूले अहिलेको नेतृत्वमा पार्टीलाई अघि बढाउन खोज्दा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।

उपमहासचिव हरिबोल गजुरेलले पार्टीले कसरी अघि बढ्ने भन्ने विषय औपचारिक छलफलबाट मात्र टुंगो लाग्ने बताउनुभयो । संसद विघटनलाई पार्टीले आधिकारिक रूपमै असंवैधानिक भनेकाले चुनाव र त्यो विषयमा पार्टीबाटै छलफल गरेर धारणा बनाइने उहाँको भनाइ छ ।

“यसले राजनीतिक दलहरूलाई गतिलो सन्देश दिएको छ,” उहाँले भन्नुभयो, “अब पार्टी कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर छलफल हुनेछ । समग्र परिस्थितिको समीक्षा हुन बाँकी छ । त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न सक्छौं ।”

सचिव गणेश साहले अहिलेको परिस्थितिलाई राजनीतिक दलहरूमा परिवर्तन र रूपान्तरण नहुँदाको उपज भन्नुभयो । उहाँका अनुसार पार्टी पुनर्गठन र रूपान्तरण प्रक्रिया तत्काल सुरू गरिहाल्नुपर्छ । नेतृत्व परिवर्तनदेखि पार्टीको वैचारिक राजनीतिबारे पुनर्मूल्यांकन गर्नुपर्छ । र, वर्तमान अध्यक्षले पद छाडेर अभिभावकत्व प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो।

“अहिलेकै नेतृत्व लिएर चुनावमा गयो भने माओवादी हार बेहोर्छ, ठूलो क्षति हुन्छ ।” सचिव गणेश साहले अझ स्पष्ट पर्दौ भन्नुभयो, “अध्यक्ष प्रचण्डले स्वेच्छाले पद छाडेमा नै उहाँको राजनीतिक उचाइ सुरक्षित हुन्छ ।”

यस्तै, स्थायी समिति सदस्य खगराज भट्टले पनि यथास्थितिमा टिकिरहँदा चुनावमा परिणाम नआउने भन्दै रूपान्तरण अपरिहार्य भएको टिप्पणी गर्नुभयो । यथास्थितिमा रह्यो भने आउँदो निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्ने भन्दै उहाँले दल संगठनात्मक रूपान्तरणमा जानुपर्ने बताउनुभयो ।

“नेताहरूले नेतृत्व र आफूलाई जति महान भने पनि पार्टी अहिले जसरी चलेको छ, त्यसलाई जनताले स्वीकार नगरेको पुष्टि भएको छ,” भट्टले भन्नुभयो ।

रूपान्तरण र नेतृत्वको विषय पहिल्यैदेखि उठ्दै आए पनि अब यसबारे अझै ठूलो आवाजमा कुरा उठ्ने उहाँले बताउनुभयो । “सिंगो राष्ट्र हामीले नेतृत्व गरेको विचारबाट नेतृत्व हुने, तर विचारको नेतृत्व गर्ने शक्ति नै जनताबाट अलोकप्रिय हुँदै जाने कुरा हाम्रा लागि बिडम्बना बनेको छ। यसको समीक्षा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

केन्द्रीय सदस्य इन्द्र आङ्बो र माधव सापकोटाले समेत पार्टीलाई तल्लो तहदेखि नै पुनर्गठन नगरे जनताले विश्वास नगर्ने चेतावनी दिनुभएको छ । उहाँहरूको भनाइमा आन्दोलनले स्पष्ट सन्देश दिएको छ—जनता अब पुरानो शैलीको नेतृत्व र अकंटक व्यक्तिवादी प्रवृत्तिलाई स्वीकार्दैनन् ।

प्रदेश अध्यक्ष सरल सहयात्रीले यो आन्दोलनले नयाँ पुस्तालाई सोच बदल्न बाध्य पारेको उल्लेख गर्दै, पार्टीले गहिरो आत्मालोचना गरेर मात्र जनतासँग पुनः सम्बन्ध जोड्न सक्ने बताउनुभयो ।

यसरी हेर्दा, प्रचण्डकै नेतृत्वमा पार्टी चुनावतर्फ लैजाने कि वैकल्पिक नेतृत्वमा रूपान्तरण गर्ने भन्ने प्रश्न अब माओवादी केन्द्रको मुख्य एजेन्डा बनेको छ । दलभित्रको बढ्दो असन्तोष, जनतामाझ घट्दो विश्वास र आगामी चुनावको दबाबले गर्दा नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्गठनबारे ठूलो निर्णय लिनुपर्ने बाध्यता पार्टीमा सिर्जना भएको छ ।

प्रतिक्रिया