काठमाडौं,२८ भदौ – नेकपा एमालेका सचिव योगेश भट्टराईले दललाई नयाँ स्वरूप दिने घोषणा गरेका छन् । शनिबार सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उहाँले पार्टीको संरचना, नेतृत्व पद्धति र कार्यशैली सबैमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै पुनर्गठनको अभियान अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
भट्टराईका अनुसार एमाले अब पहिलेजस्तो अवस्थामा नरहनेछ, बरु जनमुखी र युवापुस्तासँग आत्मीय सम्बन्ध राख्ने खालको दल बन्नेछ । उहाँले कार्यकर्ताहरुलाई पार्टीभित्र सकारात्मक रूपान्तरणमा विश्वास राख्न आग्रह गर्दै, “पुनर्गठन अहिलेको आवश्यकता हो, नेतृत्वदेखि संगठन र कार्यशैलीसम्म सबैमा परिवर्तन ल्याउँछौं, अब एमाले नयाँ बन्नेछ” भन्ने दृढ अभिव्यक्ति दिनुभएको छ ।
उहाँले हालैको जेन–जी आन्दोलनप्रति पनि टिप्पणी गर्दै युवापुस्ताले संविधान र संसदको प्रक्रियाबाट आफ्ना माग सम्बोधन गर्न खोजेको तर त्यसो हुन नसकेको गुनासो गर्नुभयो । संसदमार्फतै प्रधानमन्त्री चयन गर्ने अवसर हुँदाहुँदै पनि संसद विघटन गरिएको निर्णयलाई उहाँले अस्वीकार गर्नुभयो ।
त्यस्तै, भदौ २३ र २४ गतेका घटनाबारे उहाँले गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । उहाँका अनुसार ती दिनमा देखिएको हिंसा, दमन र अराजकतालाई निरपेक्ष ढंगले छानबिन गर्न आवश्यक छ, जसले मात्रै समाजमा न्याय र स्थिरता कायम गर्न सक्छ । भट्टराईको यस अभिव्यक्तिले एमालेभित्र अब युवामैत्री सुधार र पुनर्गठनको यात्रा प्रारम्भ हुने संकेत दिएको छ ।