काठमाडौँ ,२८ भदौ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिकूल परिस्थितिमा मुलुकले नयाँ प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । तर, उहाँले यस प्रक्रियाले संविधानमै गम्भीर प्रश्न उठाएको टिप्पणी गर्दै ‘डक्ट्रिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) प्रयोग गरेर संसद्बाहिरकै सदस्यलाई राष्ट्रपतिबाट मनोनयन गर्ने वैकल्पिक बाटो पार्टीले सुझाएको भए पनि त्यो अवलम्बन नगरेकोप्रति असन्तुष्टि जनाउनुभयो ।
शर्माले भिडियो सन्देशमार्फत हालैको जेन–जी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटप्रति दुःख व्यक्त गर्दै काँग्रेसको केन्द्रीय कार्यालयदेखि संसद भवन र सर्वोच्च अदालतसम्म पुगेको क्षति काँग्रेसले कहिल्यै चाहेको नभएको स्पष्ट पार्नुभयो । उहाँले आन्दोलनमा घुसपैठ गरेर अराजकता फैलाउने तत्वलाई नयाँ सरकारले उच्चस्तरीय छानबिनमार्फत कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले समयमै हस्तक्षेप गर्न नसकेकोमा काँग्रेस पार्टी आत्मालोचित रहेको बताउनुभयो । मृतकका परिवारलाई न्याय दिलाउन उच्चस्तरीय छानबिन आयोग गठन आवश्यक रहेको उहाँले जोड दिनुभयो । त्यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि उहाँले २०४६ सालपछि भएका सबै प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको सम्पत्ति छानबिन गरेर अनधिकृत सम्पत्ति राष्ट्रको ढुकुटीमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।
पार्टीभित्रका विषयसमेत खुलेर उठाउँदै शर्माले सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्री नबन्न आग्रह गरे पनि आफू सहमत गराउन नसकेको तथ्य सार्वजनिक गर्नुभयो । उहाँले भन्नुभयो, “म मात्रै उहाँलाई पाँच पटक पर्याप्त भइसकेको भन्दै अब अभिभावक बन्न आग्रह गर्ने सबभन्दा ठूलो शुभचिन्तक रहेँ, तर त्यो आग्रहलाई पार्टीकै अर्को साथीले पनि समर्थन गरेनन् ।” उहाँका अनुसार, तीन ठूला दलका शीर्ष नेताहरूले सामूहिक संन्यास लिएर अभिभावक बन्ने अवस्था सिर्जना भएको भए राजनीतिको नयाँ संस्कृतिको सुरुवात हुन सक्थ्यो ।
शर्माले काँग्रेसले विगतमा गरेको योगदान–प्रजातन्त्रको स्थापना, शान्ति प्रक्रिया, राष्ट्रिय संस्थानहरूको निर्माण–लाई स्मरण गर्दै, गल्ती स्वीकार गर्दै पनि अब पश्चात्तापमा नभई नयाँ परिस्थितिअनुसार रुपान्तरणसहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हिजो राजनीतिक परिवर्तन भयो, अब राजनीतिमा परिवर्तन हुनुपर्छ ।”