काठमाडौँ,२८ भदौ – राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले अन्तरिम मन्त्रिपरिषद् सदस्य बन्ने प्रस्ताव अस्वीकार गर्दै पनि सरकारलाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ । उहाँले शनिवार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आफू पदमा जान नचाहेको तर नयाँ सरकारलाई असफल हुन नदिने दृढता प्रकट गर्नुभएको हो ।
श्रेष्ठले आफूलाई ‘सत्ता होइन, सेवा गर्ने’ अभिप्रायले अघि बढेको व्यक्त गर्दै, सरकारको सफलताका लागि पृष्ठभूमिमा रहेर योगदान दिने बताउनुभयो । उहाँका अनुसार कुर्सी वा हैसियतभन्दा माथि जनताले आर्जन गरेको आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नु अहिलेको मुख्य चुनौती हो । त्यसैले अनुभव, सञ्जाल र समय दिएर सरकारलाई साथ दिने प्रतिबद्धता उनले प्रस्ट्याउनुभयो ।
आन्दोलनपछिको संवेदनशील अवस्थामा पुराना शक्तिसँग सहकार्य गर्दा आन्दोलनको मर्म कमजोर हुने जनचिन्तासँग सहमति जनाउँदै श्रेष्ठले आफू त्यस्तो प्रदूषणको कारण नबन्ने स्पष्ट पार्नुभयो । उहाँले लेख्नुभएको छ, “अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन, तर यो सरकारलाई असफल हुन दिने छैन ।”
यसरी उहाँले आफ्नो भूमिकालाई ‘नाम होइन, काम गर्ने’ दिशामा केन्द्रीत गर्दै सरकारलाई बाहिरैबाट सहकार्य गर्ने मोडेल रोज्नुभएको छ । राजनीतिक प्रभावभन्दा बढी नीतिगत दृढतामा जोड दिने उहाँको यस्तो अडानले अन्तरिम सरकारलाई थप नैतिक बल पुग्ने अनुमान गरिएको छ ।