शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

“नेता भन्छन्– सच्चिन्छौं, नागरिक भन्छन– अब पटक्कै विश्वास छैन”

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं, २७ भदौ – दुई दिनसम्म देशभर थरथर पार्ने गरी चलेको जेन–जी आन्दोलनले संसदका प्रमुख दलहरूको गठबन्धन सरकार ढालिदिएको छ । आन्दोलन थामिएसँगै राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत आत्मसमीक्षामूलक भनाइ राख्दै ‘हामी सच्चिन्छौं’ भन्ने वाचा गरेका छन् । तर, नागरिक स्तरमा भने नेताहरूको यस्तो प्रतिज्ञाप्रति पटक्कै विश्वास देखिएको छैन । दलहरूको आत्मालोचनामाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले दिएको प्रतिक्रिया झन्डै एकमतमा एउटै थियो—नेताहरू अब पनि सुध्रिन्नन् ।

प्रयोगकर्ताहरूले दशकौँदेखि ‘सच्चिन्छौं’ भनेर जनतालाई भ्रममा पार्ने नेताहरूको शैलीमा परिवर्तन नभएको जिकिर गर्दै पुराना पुस्तादेखि दोस्रो पुस्तासम्मको नेतृत्वमाथि अविश्वास प्रकट गरेका छन् । कसैले व्यंग्य गर्दै “३५ वर्षदेखि रक्सी छोड्छु भन्ने हजुरबाजस्तै, नेताहरू पनि कहिल्यै सुध्रिन्नन” भने, कसैले “अब ढिलो भइसकेको छ, हिजै कारबाही र सुधार भएको भए देश यो अवस्थामा पुग्दैनथ्यो” भन्दै आक्रोश पोखेका छन् । युवापुस्ताका लोकप्रिय नेताहरू गगन थापा र योगेश भट्टराईसमेत भ्रष्ट र ढुलमुले नेताको साथमा टिक्न खोजेको आरोपमा आलोचनामा परे । अर्का प्रयोगकर्ताले खुलेरै भने, “हिजो आत्मालोचना गरेका नेताहरूले २० वर्षमा केही गर्न सकेनन्, अब किन विश्वास गर्ने ?”

समाजमा देखिएको असन्तोष अझै गहिरो बनेको छ, किनभने बेरोजगारी, महँगी, करको चाप, भ्रष्टाचार र कुशासन निरन्तर बढ्दै गइरहेको जनताले भोगेका छन् । तर, नेताहरूले कहिल्यै ठोस योजनासहित समाधान प्रस्तुत गरेको देखिएन । यही कारण अहिलेको आत्मसमीक्षा ‘नौटंकी’ भन्दा बढी केही होइन भन्ने टिप्पणी सामाजिक सञ्जालमा हाबी भएको छ । कानुनविद, शिक्षित युवादेखि साधारण प्रयोगकर्तासम्म सबैले नेताहरूलाई साँचो सुधार बोलमा होइन, व्यवहारमा देखाउनुपर्ने माग गरेका छन् । तर, त्यसो गर्न सक्षम छन् भन्ने विश्वास कसैले देखाएका छैनन् ।

कुनै प्रयोगकर्ताले भने, “अब नेताहरू सच्चिने बेलासम्म २०४७ सालको संविधान लागु भइसकेको हुनेछ” भन्दै व्यंग्य गरेका छन् । अर्काले भने, “तपाईंहरू जेल गएर जनतालाई चिट्ठी लेख्नुभयो भने मात्र पत्याउँछौं, अन्यथा झुटको निम्तो हामी मान्दैनौं” भन्दै प्रहार गरेका छन् । कतिपयले त अब नेताहरूले नयाँ पुस्तालाई ठाउँ खाली गरेर घर फर्किनु बाहेक अरू विकल्प नरहेको ठहर गरेका छन् ।

यस्ता आवाजले एकतर्फ राजनीतिक दलको विश्वसनीयता शून्यमा पुगेको संकेत गर्छ भने अर्कोतर्फ जेन–जी आन्दोलनमार्फत सडकमा देखिएको युवाको असन्तोषलाई अब हल्का रूपमा लिन सकिँदैन भन्ने पनि स्पष्ट भएको छ । दलहरूले वाचा गरेका ‘सुधार’ अब शब्दमा होइन, संस्थागत रूपान्तरण र ठोस कदममा मात्र नागरिकले स्वीकार गर्नेछन् भन्ने सन्देश जनताले सडकमात्र होइन, सामाजिक सञ्जालमै खुलेर दिएका छन् ।

प्रतिक्रिया