काठमाडौं,११ भदौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनता कुनै हालतमा नस्वीकारिने बताउनुभएको छ । उहाँले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित बनाएर जनताबीच फेरि विश्वास कायम गर्ने आफ्नो संकल्प दोहो¥याउनु भएको छ ।
कर्णाली प्रदेशमा आयोजित पूर्ण बैठकलाई श्रव्य–दृश्यमार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल पर्वतारोहण संघलगायतका संस्थागत निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारले गरेको सफलता पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो संकेत भएको बताउनुभयो । उहाँले यी विजयहरूले माओवादी केन्द्र अझै पनि राजनीतिक शक्ति र जनताबीचको विश्वास जगाउन सक्षम रहेको प्रमाणित गरेको बताउनुभयो ।
प्रचण्डले पार्टीलाई गुटगत स्वार्थ र आपसी प्रतिस्पर्धाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गर्दै, यसअघि स्थायी समितिले पनि द्वन्द्व सृजना गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने निर्णय गरिसकेको स्मरण गराउनुभयो । उहाँका अनुसार अब माओवादी केन्द्र गुटगत सौदाबाजीमा होइन, जनताका सवालमा दृढ अडान लिन र संगठनलाई जनमुखी बनाउन केन्द्रित हुनेछ ।
शिक्षा विधेयकलगायत राष्ट्रिय महत्वका मुद्दामा माओवादी केन्द्रले लिएको अडानबारे प्रचण्डले विशेष उल्लेख गर्दै, यसले जनस्तरमा सकारात्मक सन्देश फैलाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमा हाम्रो स्पष्ट अडानले फेरि जनताको भरोसा बढाएको छ । अब हाम्रो दायित्व यसलाई अझै बलियो बनाउनतर्फ हुनेछ ।”
उहाँले बैठकमार्फत पार्टी कार्यकर्तालाई संगठनप्रति जिम्मेवार, अनुशासित र एकतावद्ध रहन आह्वान गर्नुभयो । प्रचण्डले नेतृत्वको जिम्मेवारी अब कसरी जनताको मुद्दामा केंद्रित गर्ने भन्नेमा बढी सजग बन्नुपर्ने समय आएको भन्दै, माओवादी केन्द्रलाई पुनः सशक्त राजनीतिक शक्ति बनाउने यात्रामा सबैको सामूहिक भूमिका आवश्यक रहेको बताउनुभयो ।