काठमाडौं,२ भदौ – विभिन्न विवाद र चर्चामा रहँदै आउनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब औपचारिक रूपमा राजनीतिक दल खोलेर देशको राजनीतिमा प्रवेश गर्ने घोषणा गन् । करिब दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफू र आफ्नो समूह अब नयाँ राजनीतिक शक्तिको रूपमा अगाडि बढ्ने बताएका छन् ।
प्रसाईंले आफूलाई राजनीतिक दल खोल्न बाध्य पारिएको जिकिर गर्नुभएको छ । प्रसाईले लामो समयदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ’ भन्ने अभियान चलाउँदा विभिन्न अवरोध र दबाब आएपछि यो निर्णयमा पुगेको बताउनुभयो । “अभियान मात्रै चलाउँदा पनि कोठामा ताला लगाइदिने लगायतका अवरोध भएपछि हामी यो निष्कर्षमा पुग्यौँ,” प्रसाईंले पत्रकार सम्मेलनमा भन्नुभयो,“राजनीतिले बिगारेको यो अवस्थालाई सुधार गर्न अब हामी आफैँ राजनीतिमा संलग्न हुन बाध्य भएका छौँ ।”
प्रसाईंले आफूलाई ’राजनीतिक चेत बोकेको सफल व्यवसायी’ को रूपमा परिचय गराउनुभएको छ । उहाँले अब आफ्नो प्राथमिकता व्यक्तिगत र पारिवारिक हितभन्दा माथि उठेर ‘नेपाल र नेपाली’ रहेको बताउनुभयो । उहाँले अबको राजनीतिलाई पैसा, पद र शक्तिको खेलबाट मुक्त गरी जनताको सेवामा समर्पित गर्ने दाबी गर्नुभयो ।
प्रसाईंले आफ्नो नयाँ दलको नाम र सांगठनिक संरचनाबारे भने विस्तृत जानकारी दिनुभएको छैन् । तर, उहाँले आफ्नो अभियानमा जोडिएका लाखौं समर्थक र शुभचिन्तकहरूलाई समेटेर देशव्यापी रूपमा संगठन विस्तार गर्ने योजना बनाएको बताउनुभयो । उहाँले आगामी दिनमा देशका विभिन्न ठाउँमा पुगेर आफ्नो राजनीतिक एजेन्डाबारे जानकारी गराउने र जनतालाई आफ्नो अभियानमा जोड्ने बताउनुभयो ।
प्रसाईंले वर्तमान राजनीतिक दलहरूबाट देश र जनताले कुनै पनि सकारात्मक परिवर्तनको आशा गर्न नसक्ने आरोप लगाउनुभयो । उहाँले देशको अर्थतन्त्र धराशायी भएको, बेरोजगारी बढेको र युवाहरू विदेश पलायन भइरहेको अवस्थामा पुरानै दलहरूले यी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । उहाँले आफ्नो नयाँ दलले यी सबै समस्याहरूको समाधान खोज्ने र देशलाई समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रसाईंको राजनीतिक दल खोल्ने घोषणालाई राजनीतिक विश्लेषकहरूले फरक फरक ढंगले हेरेका छन् । कतिपयले यसलाई पुरानो प्रणालीविरुद्धको विद्रोहको रूपमा व्याख्या गरेका छन् भने केहीले यसलाई उहाँको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने प्रयासको रूपमा लिएका छन् । जे भए पनि, दुर्गा प्रसाईंको यो कदमले अब नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग सिर्जना गर्ने निश्चित छ ।