काठमाडौं, १ साउन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताउनुभयो ।
नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘काँंग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना’ विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो,“दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।”
निर्वाचन अघिको समय सुविधा नभएको थापाले बताउनुभयो । “बेला बेला प्रधानमन्त्रीले के भनेको सुन्छु भने अब एक वर्ष म हुन्छु । एकवर्षपछि काँग्रेसलाई हस्तान्तरण गर्छु । त्यो हिसाबकिताबको बारेमा अहिले कुरा नगरौं,” थापाले भन्नुभयो,“सरकार भनेको दिन गनेर बस्ने हो र ? अब हामी ३६५ दिनबाट घट्यो अब ३६४, ३६३ दिन भयो हाम्रो पालो आयो भन्दै बस्ने हो र ?”
थापाले देशभित्रका समग्र समस्याको समाधानका विषयमा काँग्रेसले ध्यान दिनुपर्ने बताउनुभयो महामन्त्री थापाले हरेक छलफलको टिपोट गरी स्थानीय सरकारसम्म कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।
“युवालाई प्रविधिमार्फत समस्याको समाधान गर्दै उत्पादन, उद्यमशीलता र रोजगारी सृजना गर्नतर्फ जोड्नुपर्छ, नागरिकका समस्याको बारेमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा छलफल हुने गरेको छ, यसलाई कार्यान्वयन र नतिजासँग जोड्नुपर्छ, सरकारमा गइसकेपछि के गर्ने हो, के गर्ने हैन भन्ने विषयमा हुने छलफल महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले छलफलबाट प्राप्त हुने नीतिगत ज्ञानको कार्यान्वयनबाट नतिजा ल्याउनुपर्छ भन्नेमा जोड दिनुभयो । “नीतिगत सम्भावनाले उजागर गर्ने विषयमा धेरै बहस भएको छ, कृषि क्षेत्रका विषयमा विस्तारै फरक तरिकाले बहस सृजना गर्दै जानुपर्ने छ, प्रदेश र स्थानीय तहमा धेरै ठाउँमा हाम्रो नेतृत्व छ, प्रत्येक स्थानीय तहमा आफ्नो क्षेत्रभित्र रोजगारी सृजना गर्ने, उद्यमशीलता विकास गर्ने नीति हुनुपर्छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले कांग्रेसले विरोधको राजनीतिमा भन्दा उत्पादन, रोजगारी, उद्यमशीलता र सम्भावनाको क्षेत्रमा ध्यान दिँदै छलफल बहसमार्फत समृद्धिको राजनीतिमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले बजार अनुकुलको शिक्षा र ज्ञान अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा समस्या सृजना गर्नेभन्दा समाधान गर्नसक्ने ज्ञान र सीपको विकास गर्नुपर्ने बताउनुभयो ।