शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

रास्वपाले अपनायो विरोधको फरक शैली

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं, ३ असार - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ।

गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले संगठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको छ।रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ।

यसैबीच मंगलबार संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको दोसल्ला लगाएर विरोध जनाएका छन्। ‘हामीले रचनात्मक ढंगले कसरी विरोध गर्न सकिन्छ भनेर सोच्यौं,’ रास्वपाका एक सांसदले भने,‘त्यही अनुरूप हामीले निलो रङको दोसल्ला लगाएर विरोध जनाएका छौं।’

प्रतिनिधि सभाको केहीबेरमा बस्दैछ। बैठकमा जेठ १५ गते पेस भएको बजेटमाथिको छलफल हुनेछ।

प्रतिक्रिया