शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए काँग्रेस सांसद बजगाईं

आइतवार , आषाढ १, २०८२

काठमाडौं, १ असार, – सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गर्नुभएको छ । आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिनुभएको हो ।

बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बस्नुभएको हो । उहाँ गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बस्नुभएको हो । उहाँ संसद्को हाजिर गरेर दर्शक दिर्घामा जानुभएको हो । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः जानुभएको छ ।

“सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्री ज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,” बजगाईंले भन्नुभयो, “बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।”

जानकारी हुँदा हुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उहाँको गुनासो छ ।

साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उहाँको असन्तुष्टि छ । सांसद बजगाईलें भन्नुभयो, “भौतिक पूर्वाधारमन्त्री जनताको मान्छे जस्तो लागेन । यसकारण विरोध स्वरुप दर्शक दिर्घामा गएको हुँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रीले जनताको आवाज नसुनेको उहाँको आरोप छ । “भौतिक पूर्वाधारमन्त्रीले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन । प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको” उहाँले बताउनुभयो ।

उहाँले थप्नुभयो, “भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।”

यसकारण दर्शक दिर्घामा गएर उभिएको उहाँको भनाइ छ । “गोरखाली जनताको तर्फबाट म उहाँ (भौतिक पूर्वाधारमन्त्री) को निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया