काठमाडौँ३० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उहाँहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।
अदालत स्रोतका अनुसार सम्भवतः आजै उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उहाँहरू फरार रहनुभएको छ । उहाँहरू अदालतमा बयानका लागि पनि उपस्थित हुनुभएको थिएन् ।
मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उहाँलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए ।
बिहीबार अदालतबाट जारी दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा मिश्र र राणाबारे केही उल्लेख गरिएको छैन । “अभियोग दर्ता भएको दिन स्रेस्तेदारबाट नै उपस्थित गराइएका प्रतिवादीहरूलाई बयानको लागि इजलास समक्ष पेस गर्नु र अनुपस्थित रहेका र फरार प्रतिवादीहरूको हकमा कानुन बमोजिमको पक्राउ पुर्जी जारी गर्नु भनेर आदेश जारी भएको थियो,” श्रोतले भन्यो ।
मिसिल अहिलेसम्म बयान र थुनछेकको लागि व्यस्त रहेकोले पक्राउ पुर्जी जारी हुन नसकेको स्रोतको भनाइ छ । फाँटले पुर्जी जारीको प्रक्रिया अघि बढाइसकेको छ ।
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
यसैबिच तीनकुनेमा आवन्छित गतिविधिमामा संलग्न दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेको थियो ।
पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् । पूर्वराजाको समर्थनमा २०८१ चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकले ज्यान गुमाउनुभएको थियो ।
दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरुले आगजनीका गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्णरुपमा क्षति भएको थियो । सोही घरमा पत्रकार रजकको मृत्यु भएको थियो । आगजनीमा रामेछापको सुनापति गाउँपालिका घर भएका सरोज गौतम र अछाम पञ्चदेवलका गोकर्ण शाही संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।