सिन्धुली,२९ जेठ – सिन्धुलीमा बर्खायाममा पानीबाट हुने विपद न्यूनीकरणका लागि विपत प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीले प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने योजनाअनुसार तयारी पारिएको उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरेको हो । सम्भावित प्राकृतिक विपदलाई मध्यनजर गर्दै नेपाली सेनाको भवानी बक्स गणको आयोजनामा र जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विपद् प्रतिकार्य मनसुन अभ्यास सम्पन्न गरिएको हो ।
कमलामाई नगरपालिका वडा नम्बर ५ मा गरिएको उक्त अभ्यासमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म, नेपाल रेडक्रस सोसाइटी सिन्धुली लगायतका निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।
उद्धार अभ्यासमा विशेष गरी मनसुनको समयमा सामान्यतया देखा पर्न सक्ने संकटहरूको सामना गर्ने तरिकामा केन्द्रित गरिएको थियो । अभ्यास अन्तर्गत पानीमा डुबेको व्यक्तिको उद्धार, बगाउँदै गरेको व्यक्तिको उद्धार, भीरमा अड्केका व्यक्तिको सुरक्षित उद्धार तथा जिपलाइनको प्रयोग गरी खोलापारी फसेका व्यक्तिको उद्दार लगायतका अभ्यास गरिएको थियो ।
त्यस्तै, उद्धार पश्चात प्राथमिक उपचार प्रदान गर्ने र अस्पतालसम्म सुरक्षितरूपमा पु¥याउने प्रक्रियाको पनि व्यावहारिक अभ्यास गरिएको थियो । यस अभ्यासमार्फत विभिन्न सुरक्षा निकायबीच समन्वय, संचार र कार्य क्षमताको परीक्षण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले भन्नुभयो, “मनसुनको समयमा बाढी, पहिरो, डुबान लगायतका जोखिमहरू उच्च हुने भएकाले यस्तो प्रकारको पूर्वतयारी र अभ्यास आवश्यक छ । यसले विपद्को बेलामा हुने क्षति न्यूनीकरण गर्न ठूलो मद्दत गर्छ ।”