सिन्धुली – सिन्धुलीमा टिपरको पैदलयात्री र कार ठक्कर दिँदा ४ जना घाइते भएका छन् । मंगलबार जिल्लाको दुधौली नगरपालिका–३ कमला पुलस्थित मदन भण्डारी राजमार्गमा टिफरको ठक्करबाट पैदलयात्री सहित कारमा सवार ४ जना घाइते भएका हुन् । भिमानबाट डकाहा तर्फ जाँदै गरेको ना ८ ख ७७३९ नम्बरको टिपरले घाँस काट्न निस्किएका पैदल यात्रुहरूलाई ठक्कर दिएको हो । त्यसपछि सोही टिपरले विपरीत दिशाबाट आइरहेको प्र. ३–०१–०२२ च ८२८२ नम्बरको कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
टिपरको ठक्करबाट पैदलयात्री दुधौली नगरपालिका–३ झुंगा का ४५ वर्षीय कृष्ण बहादुर कटुवाल गम्भिर घाइते हुनु भएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, पैदलयात्री सोहि ठाउँका ४५ वर्षीया मिन माया कटुवालको टाउको, छाती र बायाँ खुट्टामा चोट लागेको छ । कार चालक मोरङको विराटनगर महानगरपालिका–३ का ४५ वर्षीय प्रमोद रेग्मीको दायाँ गाला र छातीमा चोट लागेको छ भने कारमा सवार ४४ वर्षीया तुलसा निरौलाको टाउको, छाती र ढाडमा चोट लागेको छ । घाइतेहरू सवैलाई जनसेवा अस्पताल, बर्दिबास पठाइएको छ ।
दुर्घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी हात्पतेबाट प्रहरी नायब निरीक्षक शंकर कटुवालको कमाण्डमा र ईलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको टोली घटनास्थलमा खटिएको थियो । टोलीले टिपरलाई नियन्त्रणमा लिई डकाहा तर्फ ल्याइरहेको छ भने कार निकाल्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । हाल टिपर चालक फरार रहेको छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।