सिन्धुली – सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा पछिल्लो केही वर्षयता उल्लेखनीय विकास कार्य भएका छन् । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयनमा ल्याउँदै गाउँपालिकालाई सेवा र विकासको नमूना बनाउने अभियानलाई तीव्रता दिनुभएको छ ।
अध्यक्ष बरालका अनुसार स्थानीयवासीले अहिले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका आधारभूत क्षेत्रमा सहज सेवा पाएका छन् । “हामीले बोलेका कुरा पूरा गरिरहेका छौं । जनतासँगको विश्वासलाई काममार्फत पुष्टि गर्न लागिपरेका छौं,” उहाँले भन्नुभयो ।
गोलन्जोर गाउँपालिकाका वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् । प्राथमिक स्वास्थ्य सेवा विस्तारसँगै नियमित स्वास्थ्य शिविर सञ्चालन, मातृशिशु पोषण कार्यक्रम, गर्भवती महिला तथा सुत्केरीका लागि प्रोत्साहन कार्यक्रम, निःशुल्क औषधि वितरणजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा छन् । स्थानीय जनताको स्वास्थ्यमा प्रत्यक्ष सुधार आएको गाउँपालिकाको तथ्यांकले देखाउँछ ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माण तथा मर्मत, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरण र छात्रवृत्तिको व्यवस्थाले शिक्षा क्षेत्रमा सुधार आएको छ । शिक्षकको दरबन्दी व्यवस्थापनसँगै नियमित अनुगमन प्रणालीलाई पनि सुदृढ बनाइएको छ ।
विकट बस्तीमा समेत खानेपानी सुविधा पु¥याउने लक्ष्यसहित विभिन्न खानेपानी योजना कार्यान्वयनमा ल्याएको अध्यक्ष बरालले बताउनुभयो । ग्रामीण क्षेत्रमा घर–घरमै धारो जडान गरेर स्थानीयको दैनिक जीवन सहज बनाइने उहाँको भनाई छ । अधिकांश योजनाहरू उपभोक्ता समितिको सहकार्यमा सम्पन्न गरिएका छन् ।
गोलन्जोरका बस्तीहरू सडक सञ्जालमा जोडिन थालेका छन् । गाउँपालिकाले ग्रामीण सडक निर्माण, मर्मत तथा ग्राभेलिङको कामलाई तीव्रता दिएको छ । कतिपय मुख्य सडक ब्ल्याकटपका लागि प्रस्ताव गरिएका छन्। सडकले कृषकहरूलाई बजारसँग जोडिदिएको छ भने स्थानीय यातायात पनि सहज भएको छ ।
गोलन्जोर गाउँपालिकाले योजनाहरू तय गर्दा स्थानीय सहभागिता सुनिश्चित गरेको छ । वडास्तरीय खुला बैठक, सार्वजनिक सुनुवाइ र सामाजिक लेखापरीक्षणमार्फत योजना छनोटदेखि कार्यान्वयनसम्म जनताको मत र सहभागिता समेटिएको छ यसले पारदर्शिता र जवाफदेहीतामा वृद्धि गरेको छ ।
“हाम्रो उद्देश्य केवल पूर्वाधार बनाउने होइन, दिगो विकासको जग बसाल्नु हो,” अध्यक्ष बरालले भन्नुभयो , “जनताको साथ, सहभागिता र निगरानीले हामीलाई अझ मजबुत बनाएको छ । बाँकी कार्यकालमा रोजगारी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुने योजना बनाएका छौं ।”
गोलन्जोर गाउँपालिका स्थानीय विकास, सेवा प्रवाह र पारदर्शी शासन व्यवस्थाको नमूना बन्दै गएको छ । अध्यक्ष बरालको दूरदर्शिता, इमानदारी र जनप्रतिबद्धताले गाउँपालिकालाई समृद्धिको मार्गमा अघि बढाइरहेको छ ।