काठमाडौँ,२३ जेठ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ निकायबाट तलब÷भत्ता लिएको भन्दै नासुसमेत रहेका एक जना पत्रकारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
रामेछापका टीकाप्रसाद भट्टले कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै २१ ठाउँबाट तलब÷भत्ता बुझेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनले आर्थिक वर्ष २०४९/०५० देखि आर्थिक वर्ष २०८०/०८१ सम्म एक करोड १५ लाख ४ हजार १११ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले उनीसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे र सुरेशप्रसाद दाहालविरूद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले थापाविरूद्ध ३ लाख ३९ हजार २८५, भण्डारीविरूद्ध दुई लाख ७ हजार ७७५, सुरेशकुमार वाग्लेविरूद्ध तीन लाख ९५ हजार ४२०, ५ लाख ९२ हजार ४६० र सुरेशप्रसाद दाहालविरूद्ध चार लाख ७९ हजार ५५० रुपैयाँ बिगो कायम गरेको छ ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मन्थली नगर विकास समितिमा अस्थाई रूपमा नायब सुब्बाको रूपमा कार्यरत रहेका भट्टले आफू कान्तिपुरको पत्रकार हुँ भनेर कर्मचारीहरूलाई धम्क्याउने, रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने उजुरी गरेको थियो । भट्ट २०४९ साउन १ गते अस्थायी खरिददारको रूपमा ६ महिनाका लागि नियुक्त भएका थिए । उनले पुनः पुस १ गते अनिश्चितकालीन म्याद थपेको अख्तियारले जनाएको छ ।
२०७० माघ १ गते अस्थायी खरिदार पदबाट नासुमा बढुवा लिएका थिए । उनले स्थायी कर्मचारी सरह गैरकानुनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्यादथप र बढुवा लिएको आरोप छ ।
कर्मचारी रहँदा २०५३ सालदेखि कान्तिपुरमा रहेर काम गर्दै आएका थिए । २०६७ पुस १ मा कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिएर नियमित पारिश्रमिक लिएका थिए । यसरी नै उनले २१ वटा विभिन्न निकायबाट पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।
अनुसन्धानका क्रममा राष्ट्रसेवक कर्मचारी टिका प्रसाद भट्टले व्यवसाय गर्ने, सहकारीको सञ्चालक भई काम गरेर सुविधा लिने, आफ्नो वास्तविक परिचय लुकाई पत्रकारको रूपमा विभिन्न कार्यालयलाई दबाब र प्रभावमा पारी भ्रमण भत्ता तथा बैठक भत्ता लिने र विज्ञापन एजेन्सीमार्फत सूचना प्रकाशित गरे बापत कमिसन लिई सम्बन्धित सार्वजनिक संस्थामा दाखिला नगर्ने, विज्ञापन एजेन्सीको प्रतिनिधिको रूपमा कमिसन लिई काम गर्ने, सिटिजन्स लाईफ ईन्स्योरेन्स कम्पनीको एजेन्टको रूपमा काम गरी रकम भुक्तानी समेत लिएको पाइएको छ ।
