सिन्धुली –सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं. ५ मुलकोट सिक्रेफाटमा डिप बोरिङको नाममा भएको भ्रष्टाचारको घटनाले स्थानीय सरकारको कार्यशैली र योजनामा पारदर्शिता र जवाफदेहीताबारे गम्भीर प्रश्न उठाएको छ ।
स्थानीयका अनुसार अनुसार, २१ लाख रुपैयाँको अनुमानित लागतमा उपभोक्ता समिति मार्फत डिप बोरिङको योजना ल्याइएको थियो । ठेकेदारले ७१ मिटर गहिरो खन्नुपर्ने बताउँदै स्थान चयन गर्न भनेका थिए । तर,बर्षाको समय भएकोले पानीको सतह माथि आइपुगेको थियो । कामदारहरूले ४८ मिटर मात्र खनेपछि पानी आएको जानकारी दिएका छन् । अध्यक्षलाई ठेकेदारले पानी आएको देखाएरछ काम सम्पन्नभएको भनि सही गर्न लगाए । तर, खर्च जम्मा ४ लाख रुपैयाँ नपुग्ने देखिन्छ ।
यस सम्बन्धमा स्थानिय बिनोद दाहालले आफ्नो फेसबुकमा लेद्यनुभएको छ, “ हाम्रो फाँटमा डिप बोरिङको कार्यक्रम आयो । २१ लाखको स्टिमेट मा गाड्ने काम आयो भनेर समिति बनाए । एकदिन ठेकेदार आयो भने, उसले ठाउँ रोज्नुस्, मिसिन आउँछ ७१ मिटर गहिरो खन्नुपर्ने बतायो । समितिका अध्यक्षलाई काम सकिएपछि सहि गर्न भनेर गयो । केहि दिनपछि यिनै डिजि बोकेको र बोरिङ मिसिन बोकेको गाडिहरू र ४ जना कामदार आएर ४ दिनमा काम सके । बर्खा लागेर पानीको सतह माथि आईसकेको छ र कामदार नै बताइरहेका छन् कि ४८ मिटर मात्र खनेका छन् । अध्यक्षले मज्जाले पानी आएको देखेपछि सहि गरिदिए, काम सकियो । जम्माजम्मी ४ लाख खर्चभएको छैन होला । अब त्यो स्टिमेटको सबै रकमका कागजपत्र मिलाएर सेटिङकाले बाँडचुँड गरेर खाने पक्का छ ।”

यस घटनाले स्थानीय सरकारकोे अनुगमन र मूल्यांकन प्रक्रियामा कमजोरी रहेको स्पष्ट भएको छ । योजना सम्पन्न भएपछि मात्र भुक्तानी दिने कानुनी व्यवस्था भए तापनि, पेस्कीस्वरूप रकम निकासा गरिएको पाइएको छ । यसरी कागजमा काम देखाएर बजेट निकासा गर्ने प्रवृत्तिले भ्रष्टाचारको सम्भावना बढाउँछ । स्थानीय तहका कर्मचारीहरूले कमिसन माग्ने र अनावश्यक खर्च गर्ने प्रवृत्तिले बेरुजु बढाएको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ ।
यस घटनाले सरकारी योजनामा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्नका लागि कडा निगरानी र प्रभावकारी अनुगमनको आवश्यकता औंल्याएको छ। स्थानीय प्रशासन र उपभोक्ता समितिहरूले योजनाको कार्यान्वयनमा पारदर्शिता र जवाफदेहीता कायम राख्नका लागि कडा कदम चाल्न आवश्यक छ ।