सिन्धुली – सरकार बीपी राजमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङ मार्ग बनाउँदै दुरी कम गर्ने योजनामा गएको छ । । यसपालिकै बजेटमा सम्भाव्य अध्ययन भइसकेका खुर्कोट–चियाबारीसुरुङमार्ग योजना अघि सारिएको छ । सिन्धुलीको खुर्केट–चियाबारी सुरुङ मार्ग बनाउन ४० अर्ब रुपैयाँ लाग्ने जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक टोलीले सार्वजनिक गरेको एक अध्ययनले देखाएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो । डीपीआर तयार भएपछि मात्र वास्तविक लागत यकिन हुनेछ ।
यसअघि सरकारले सन् २०३१ सम्म सक्न जाइकासँग आग्रह गरेको थियो । तर, हालसम्म डीपीआर तयार भएको छैन । डीपीआर र लगानी खाका टुंगो नलागेकाले परियोजना २०३१ को लक्ष्य पूरा हुने देखिँदैन ।
जाइकाले गरेको प्रारम्भिक अध्ययनअनुसार, ७.८ किलोमिटर सुरुङका साथै डेढ किलोमिटर नयाँ सडक बनाउनुपर्ने हुन्छ ।
बीपी राजमार्गमा सुरुङ मार्ग र सडक गरेर करिव १० किलोमिटर लामो सुरुङ निर्माण हुने अनुमान गरिएको छ । सुरुङ मार्ग बनेपछि २५ किमी बाटो छोटो हुने जाईकाको प्रारम्भिक अध्ययनले देखाएको छ । खुर्कोटबाट सिन्धुली पुग्न ३९ किलोमिटर पर्छ । जाइकाको २६ अर्ब जापानी येन लगानी भएको उक्त राजमार्गको लम्बाई धुलिखेलदेखि बर्दिबाससम्म १६० किलोमिटर छ ।
राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने उक्त राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।