शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

संसदको गतिरोध अन्त्य गर्न विपक्षी दलले अघि सारे तीन सर्त

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ,२० जेठ – संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले तीनवटा सर्त अघि सारेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको बैठकले संसदको गतिरोध अन्त्यका लागि तीनवटा सर्त अघि सारेको हो ।

बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न छानबिन आयोग बनाउने विषयलाई पहिलो सर्त बनाएको छ । यस्तै, भिजिट भिसा प्रकरणको छानबिन गर्न गृहमन्त्री रमेश लेखकले छानबिनको परिणाम नआएसम्म राजीनामा दिएर अनुसन्धानका लागि सहयोग गर्नुपर्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।

यस्तै, बैठकले भिजिट भिसा प्रकरणको जिम्मेवारी लिन र छानिबन गराउने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर लिनुपर्ने पनि निष्कर्ष निकालेको छ । विपक्षी दलहरूले अघि सारेका तीनवटा सर्त पूरा गर्न सत्तापक्ष तयार नभए संसद चल्न नदिने पनि निष्कर्ष बैठकले निकालेको निकालेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै माओवादी केन्द्रसहित विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै लगातार संसद बैठकमा अवरोध गर्दै आएका छन् ।

विपक्षी दलका तीन सर्त

१. उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहनुभएका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन र आयोग बनाउने र यसलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने ।

२. आवश्यक छानबिन गर्न मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म अनुसन्धान प्रभावित नगर्नका लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।

३. यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीज्यूले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने ।

बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादी भने गृहमन्त्रीको राजीनामा माग्न आवश्यक नरहेको आशयमा प्रस्तुत भएको थियो । बैठकमा सहभागी एक नेताले भने, “व्यक्ति होइन, प्रवृत्ति हेरौं । राजीनामा नै किन माग्नु भन्ने आशय उहाँहरुको थियो ।”

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, महिन्द्र राय यादवको नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए । विपक्ष अर्को दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको थिएन ।

विपक्ष दलको बैठकले निकालेको निष्कर्षको आधारमा प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेलाई भेट्न गएका छन् ।

 

प्रतिक्रिया