शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमालेले चलायो ‘झोले’ अभियान

सोमवार , जेठ २०, २०८२

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित धेरै एमाले नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर फेसबुकमा राखेपछि अर्थमन्त्री बिष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका मुख्य सल्लाहकार बिष्णु रिमाललगायत लगायत एमालका नेताहरुले आफ्नो तस्बिरमा म झोले अभियान चलाएका छन् ।

तस्बिरमा “एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो” पनि लेखिएको छ ।

प्रधानमन्त्री ओलीले उक्त तस्बिर राख्दै स्टाटसमा भन्नुभएको छ, “हिजोआज एउटालाई भगवान बनाउनु प¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,” स्टाटसमा भनिएको छ, “भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।”

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताउनुभएको थियो ।

उहाँले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताउनुभएको थियो । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको भन्दै नेकपा एमालेको झोले भएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीको भनाई थियो, “इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।”

प्रतिक्रिया