सिन्धुली– दुधौली नगरपालिकाले वडा नं ६ हर्षाहीलाई आउँदो माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य लिएर सुचक पुरा गर्न विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम समुदाय, टोल तथा वडामा बालमैत्री स्थानीय शासनका सुचकहरु पुरा गर्नको लागी वडा तथा समुदाय स्तरमा तालिम, अभियान तथा अभिमुखीकरण कार्यक्रम संचालन भईरहेको वडा स्तरीय बाल अधिकार समितिको संयोजक प्रेम बहादुर लामाले जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणाको ५ चरण मध्य पुर्व तयारी चरण र तयारी चरणका सुचकहरु पुरा गरी हाल कार्यान्वयन चरणमा पुगेको छ । कार्यान्वयन चरणका सुचकहरु पुरा गर्न वडामा ७ वटा समुदाय स्तरीय टोल सुधार समिति गठन गरी बाल अधिकार, बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन तथा समुदायका सबै अभिभावकहरुले बाल विवाह, बाल श्रम नगर्ने नगराउने प्रतिवद्धता सहित हस्ताक्षर संकलन समेत गरिएको छ ।
त्यस्तै, समुदाय स्तरमा ९ र विद्यालय स्तरमा ४ गरी जम्मा १३ वटा बाल क्लव गठन गरी क्षमता विकास तालिम संचालन गरिएको छ । बाल क्लवको अगुवाइमा बाल अधिकार सुनिश्चित गर्ने र बाल विवाह न्यूनिकरणको लागी अभियान संचालन भईरहेको छ ।
साथै, बाल क्लवको अगुवाईमा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पुनः विद्यालय भर्ना अभियान संचालन गरी समुदायका केही बालबालिकाहरुलाई विद्यालय भर्ना गराईएको बाल क्लवका अध्यक्ष ओम प्रसाद बरालले जानकारी दिनु भयो ।
शिक्षा, स्वास्थ्य लगाएको सुचकहरु पुरा भए पनि वडाको मुख्य समस्याको रुपमा रहेको बाल विवाह र विद्यालयबाहिर रहेको बालबालीकाको संख्या न्यूनिकरण गर्न नसक्दा वडालाई बालमैत्री वडा घोषणा गर्न समस्या भएको हो । यस सुचकलाई पुरा गर्न बाल क्लव, बाल संञ्जाल, टोल सुधार समिति, वडा स्तरीय बाल अधिकार समितिलाई सक्रिय बनाई विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।
साथै, वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियान विगत २ वर्ष देखी संचालन भईरहेको हुदाँ हाल शिक्षा, स्वास्थ्य, सरसफाईको सुचकहरु ९० प्रतिशत सम्म पुरा भईसकेको र आगामी माघ महिनामै वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी भएको वडा अध्यक्ष कमान सिंह आलेले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासनका ५१ सुचकहरुलाई मध्यनजर गर्दै बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकासको आधारमा रहि वडा तथा पालिकाको योजना अनुसार कार्यक्रम संचालन भई रहेको छ ।
नेपालको शासकीय पद्धति र सेवाप्रवाहका सम्बन्धमा बालबालिकाका सवालहरू सम्बोधन गर्न आवश्यक ठानी विगत लामो समयदेखि नेपालमा बालबालिकाको अधिकारलाई प्रत्याभूत गराउन तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न दुधौली नगरपालिका र ह्याण्डस नेपाल
सिन्धुलीले समुदाय तथा वडा स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । वडालाई बालमैत्री वडा घोषणा गर्नको लागी प्लान इन्टरनेशनल नेपाल र ह्याण्ड्स नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बालमैक्री स्थानीय शानस सम्बन्धी कार्यत्रहरु पनि संचालन भई रहेको छ ।