शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा विद्युत महसुल नतिर्ने ८ सय बढीको लाइन काटियो

शुक्रवार , जेठ १७, २०८२

सिन्धुली,१६ जेठ – नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिर्ने उपभोक्ता विद्युत सेवा बन्द गरेको छ । प्राधिकरणले हालसम्म जिल्लाभरिका ८ सयभन्दा बढी उपभोक्ताको विद्युत सेवा लाइन काटेको जानकारी दिएको छ । चालुआर्थिक वर्षमा मात्रै जिल्लाभरिका ८ सय २३ जनाको विद्युत सेवा बन्द गरेको नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा मात्रै १ करोड ४३ लाख बक्यौता रकम संकलन गर्न बाकीँ रहेको छ । अगाडि वर्ष र यस आर्थिक वर्षको जम्मा १ करोड ५५ लाख बक्यौता रकम संकलन गरिसकेको प्रमुृुख लम्सालले बताउनुभयो । उहाँका अनुसार पटक–पटकको सूचना, आग्रह र चेतावनीपछि पनि महसुल नतिरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको हो । लाइन काटिएका उपभोक्ताहरूले महिनौँदेखि विद्युत महसुल तिरेका थिएनन् भने केहीले वर्षौँदेखिको बक्यौता समेत चुक्ता गरेका थिएनन् । “हामीले उपभोक्ताहरूलाई पटक–पटक सूचना र समय दिँदै आएका थियौँ । तर अझै पनि धेरैले गम्भीरता देखाएनन् । त्यसैले बाध्य भएर ८ सयभन्दा बढीको लाइन काटिएको हो ,” प्रमुख लम्सालले भन्नुभयो ।

उहाँका अनुसार महसुल तिर्ने प्रक्रिया पूरा गरेपछि मात्र पुनः जडान गरिने छ । साथै, अझै पनि करिब सयौँ उपभोक्ता बक्यौतामा रहेको र उनीहरूलाई पनि चेतावनी दिइसकिएको जानकारी दिइएको छ । प्राधिकरणले महसुल तिर्न बाँकी रहेका सबै उपभोक्तालाई तत्काल बक्यौता चुक्ता गर्न आग्रह गर्दै, समयमा महसुल नतिरेमा लाइन काटिने स्पष्ट चेतावनी दिएको छ । यस वर्ष राजस्व संकलन सुधार गर्नुका साथै सेवा प्रभावकारी बनाउन प्राधिकरणले सक्रियता देखाएको छ ।

प्रमुख लम्सालले लाइन काट्ने मात्र नभई नयाँ ग्राहक थप्ने र सेवा विस्तार गर्ने दिशामा केन्द्रले लक्ष्य लिएको बताउनुभयो । “बक्यौता महसुल तिर्नु उपभोक्ताको कानुनी र नैतिक दायित्व हो। तर हाम्रो मुख्य उद्देश्य सेवा रोक्नु होइन, सेवाको विस्तार गर्नु हो ।” उहाँले भन्नुभयो । उहाँका अनुसार केन्द्रले चालु आर्थिक वर्षभित्रमा सिन्धुली जिल्लाभर नयाँ ग्राहक संख्या उल्लेख्य रूपमा वृद्धि गर्ने लक्ष्य राखेको छ । हाल दूरदराजका गाउँहरूमा समेत ट्रान्सफर्मर विस्तार, लाइन बिस्तार र मिटर जडानको काम तीव्र रूपमा भइरहेको छ ।

प्राधिकरणले महसुल तिर्ने बानी बसाल्न उपभोक्तालाई समय–समयमा सचेतना अभियान पनि सञ्चालन गरिरहेको छ । महसुल तिर्नु न केवल प्राधिकरणको आम्दानीसँग जोडिएको विषय हो, तर सेवा गुणस्तर सुधार गर्ने आधार पनि भएको प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया