सिन्धुली – सिन्धुलीमा प्रहरीले एक सय बढी केजी लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२ स्थित मदन भण्डारी राजमार्गमा रहेको झनझने प्रहरी चेकपोस्टमा प्रहरी नायब निरिक्षक प्रकाश भण्डारीको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचको क्रममा लुकाइछिपाई सिन्धुली ल्याउँदै गरेको पिकअप गाडिमा १ सय ७ केजि गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको हो ।
हेटौंडाको कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२–०३–००१ च.५६७१ नम्बरको सिमेन्ट लोड गरिएको बोलेरो पिकअप गाडीमा गाँजाको १५ पोका रहेको प्रहरीले बताएको छ । गाडी चालक रौतहट गरुडा नगरपालिका–४ का १९ वर्षीय गोपाल साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा, गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको प्रहरीले जानकारी दिएको छ ।