सिन्धुली – सिन्धुली अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) कमलामाई नगर कमिटीले आज सिन्धुली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।
गणतन्त्रको सम्मानमा आयोजित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्टीको नगर नेतृत्वले बिरामीहरूलाई स्वास्थ्यलाभको शुभकामना दिँदै फलफूल वितरण गरेको हो ।
बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश सदस्य समेत रहनु भएका प्रदिप कटुवालले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनु हुँदै यस अवसरलाई जनताको सेवामा रूपान्तरण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले कमलामाई नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको जीवनमा आत्मसम्मान, सेवा र समर्पणको भावना भएको बताउनुभयो । उनीहरूले अस्पतालका विभिन्न वार्डहरूमा पुगेर बिरामी तथा तिनका आफन्तलाई फलफूल प्रदान गर्दै लोकतन्त्र र गणतन्त्रले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको कुरामा जोड दिए ।
गणतन्त्र दिवसको सम्मानमा गरिएको यो कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा राजनीतिक दलहरूको सक्रियतासमेत झल्काएको छ । फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।