शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

संसदमा बजेट प्रस्तुत गर्न दिने विपक्षी दलको निर्णय

बुधवार , जेठ १५, २०८२

काठमाडौं, १४जेठ – विपक्षी दलहरूले जेठ १५ गते प्रस्तुत हुने बजेट पेश गर्न अवरोध नगर्ने निर्णय गरेका छन् । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको भन्दै विपक्षी दलहरूले भोलि बजेट ल्याउन दिने निर्णय गरेको जानकारी माओवादी सांसद लेखनाथ दाहाल ‘राजन’ले दिनुभयो ।

जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था हो, यो व्यवस्थाको उलंघन गने पक्षमा छैनौं, यसैले भोलि नरम हुने हाम्रो निर्णय छ, बजेट ल्याउन दिन्छौं,” दाहालले भन्नुभयो ।

तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको भन्दै उनले राजीनामा नदिएसम्म संसद्मा अवरोध गरिरहने उहाँले बताउनुभयो ।

“हामीले भोलिमात्रै संसद् अवरोध गर्दैनौं भनेका हौं । गृहमन्त्री विवादमा तानिएको विषयमा उहाँले राजीनामा नदिएसम्म हाम्रो माग पूरा हुँदैन,” दाहालले भन्नुभयो, “पर्सीदेखि विरोधको क्रम निरन्तर हुन्छ । माग सम्बोधन नहुञ्जेल संसद् अवरोध गरिरहन्छौं ।” विपक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितका दल छन् ।

यस्तै, रास्वपा प्रवक्ता मनीष झाले पनि भोलि बजेट ल्याउने प्रक्रिया नरोक्ने बताउनुभयो । “भोलि बजेट ल्याउने संवैधानिक प्रक्रिया हो, त्यति राजनीतिक सुझबुझ हामी देखाउछौं,” प्रवक्ता झाले भन्नुभयो ।

भिजिट भिसाकै प्रकरणमा गृहमन्त्री लेखकले बोल्न खोजे पनि मंगलबार र बुधबार नै विपक्षीले संसद् बैठक अवरोध गरेका छन् ।

गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको सर्त छ । तर सत्ताको नेतृत्व गरेको एमाले र सत्तारुढ काँग्रेसले गृहमन्त्रीको कुनै संलग्नता नरहेको भन्दै राजीनामा नदिने बताउँदै आएका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठककरिब दुई घण्टा ढिला गरी बैठक सुरू भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिषा’ प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म बैठक सञ्चालन हुन नसक्ने प्रतिपक्षीको अडानका कारण आज पनि नियमित कारबाहीमा अगाडि बढ्न सकेन ।

सभामुख देवराज घिमिरेले पटकपटक बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । उहाँले दलीय आधारमा आफ्ना कुरा राख्न र गृहमन्त्री रमेश लेखकले समेत समय माग गरेकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँको पटकपटकको आग्रहलाई समेत विपक्षी दलले अस्वीकार गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । सम्भावित कार्यसूचीअनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया