काठमाडौं – राजावादीहरुले ज्ञानेन्द्र शाह वा उहाँको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ ।
जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।
राप्रपा, राप्रपा नेपालसहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको लक्ष्य अनुसार यही जेठ १५ गते (आज)काठमाडौंमा गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गर्नुभएको हो ।
विज्ञप्तिमा लेखिएको छ, “हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।”
जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिनुभएको थियो ।
“यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,” शाहीकालमा मन्त्री समेत बन्नुभएका थापाले भन्नुभएको थियो, “राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०÷२१ वर्षको हुनुभयो ।” हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुनुहुन्छ ।
‘राजा र धर्म फरक’
राजावादीहरुले राजसंस्था र हिन्दु राज्य पुनरस्थापनाको एजेण्डासहित आन्दोलन गरिरहेका बेला विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. अधिकारीले भने त्यसमा विमति राख्नुभएको छ ।
राजा र धर्म फरक विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामीले राजालाई धर्मसँग जोड्दैनौं, राजा राजनीतिक विषय हो, समय क्रममा स्थापित–विस्थापित हुनसक्छ तर धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय हो । यो निरन्तर चलिरहन्छ ।”
उहाँले थप लेख्नुभएको छ, “हामी घोर दक्षिणपन्थी र उग्रवामपन्थी कुनै पनि धार तिर झुक्दैनौं । मध्यमार्गी लोकतान्त्रिक मूलधार नै हाम्रो मूलबाटो हो । धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दु राष्ट्र हाम्रो लक्ष्य हो ।”
आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार स्वयं हुनुपर्ने
उहाँले राजावादीहरुको आन्दोलनमा स्वेच्छाले सहभागी हुनेहरुलाई रोक नलगाउने तर जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने स्पष्ट पार्नुभएको छ ।
अधिकारीले लेख्नुभएको छ, ‘स्वेच्छाले व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन चाहने जो कोही होस् व्यक्तिगत स्वतन्त्रता हनन् नहुने गरी हामी आन्दोलनमा सहभागी हुन चाहने जो कोहीलाई रोक लगाउँदैनौं । तर आन्दोलनमा जाँदा भैपरि आउने जोखिमको भागीदार सहभागी स्वयं हुनुपर्ने छ ।”
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेठ ६ गतेको एक सार्वजनिक कार्यक्रममा जनताको शान्तिपूर्ण प्रदर्शनको बलमा राजसंस्था र हिन्दु राज्य पुनस्र्थापना गरेरै छाड्ने बताउनुभएको थियो ।