शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमाढीमा खानेपानी संकट

सोमवार , जेठ १३, २०८२

सिन्धुली – सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमै खानेपानीको समस्या देखिएको छ । शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट आपूर्ति हुने खानेपानीको धारामा पानी नआउँदा उपभोक्ता हैरान भएका हुन् । उपभोक्ताले धारामा पानी नआउने, आए पनि अत्यन्त कम मात्रामा आउने र लेदोसहितको पानी आउने गुनासो गरेका छन् ।

कमलामाई नगरपालिका ५ की सान्ति लामा धारामा पानी नआएपछि बजारबाट महगो मुल्यमा जारको पानी किनेर खान बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हरेक महिनाको खानेपानीको पैसा तिरिरहेका छु । पानी भने कहिले आउने कहिले नआउने, सबै हिलो धमिलो पानी आउँछ । शिद्धेश्वर खानेपानीले लापरबाहि गरिरहेको छ । समस्याबारे जानकारी भएपनि वेवास्ता गरिरहेको छ ।”

पैसा तिरेर जडान गरिएको धारामा पनि नियमित पानी नआउँदा उपभोक्ता आक्रोसित भएका छन् । नियमित पानी नआउने र आएपनि हमिलो आउने गरेपछि उपभोक्ता हैरानी भएका हुन् । उनीहरु महगो मुल्यमा बजारबाट जारको पानी किनेर खान बाध्य छन् । कमलामाई नगरपालिका ५ कै सरला कार्कीपनि बजारबाटै जारको पानी किनेर खाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अव त यो धारा नै हटाउनु पर्ने छ । यतिकै पानीको पैसा तिरहेका छौँ । बारम्बार संस्थालाई भने पनि वास्ता गदैनन् । कहिले पानी नआउने कहिले धमिलो पानी आउने, धारामा पानी आएपनि सानो आउँछ ।”

बढ्दो सहरीकरण र जनसंख्या वृद्धिका कारण खानेपानीको माग बढ्दै गएको छ । यस समस्याको दीर्घकालीन समाधानका कुनै पनि पहल गरेको छैन ।

सिन्धुलीमाढीका बासिन्दाहरूले नियमित शुल्क तिर्दा पनि पर्याप्त र स्वच्छ पानी पाउन नसक्दा दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् । सरकार र सम्बन्धित निकायहरूले यो समस्याको शीघ्र समाधान गर्न आवश्यक छ, ताकि नागरिकहरूले आफ्नो मौलिक अधिकारस्वरूप स्वच्छ र सुरक्षित खानेपानी प्राप्त गर्न सकून् ।

प्रतिक्रिया