शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले

शनिवार , जेठ ११, २०८२

भरतपुर, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताउनुभएको छ ।

आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उहाँले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताउनुभयो । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने सङ्कल्प गर्छाैं ।”

उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताउनुभयो । “केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उहाँलाई नै प्रधानमन्त्री बनाउने सङ्कल्प गरिरिएको बताउनुभयो ।

प्रतिक्रिया