सिन्धुली– कमलामाई नगरपालिका ५ का दुर्गा प्रसाद कार्कीलाई सिन्धुलीमाढीबाट काठमाडौँ पुग्न झण्डै दश घण्टा लाग्यो । वर्षासँगै रोसीमा आएको बाढीले राजमार्ग बन्द नै भयो । ४ घण्टा बढी रोशीमा बस्नुपरेको उहाँ सुनाउनुहुन्छ “झण्डै ४ घण्टा जाममा पर्यो । रोशीमा आएको बाढीले बाटो नै बगाएयो, ठाउँठाउँमा पहिरो खसेको थियो । वर्षाको समयमा विपि राजमार्गमा यात्रा गर्नु धेरै नै जोखिम छ ,” उहाँले भन्नुभयो ।
सोहि ठाउँका विष्णु देवकोटा पनि वर्षातको समयमा विपि राजमार्गमा यात्रा गर्नु एकदमै जोखिम रहेको बताउहुन्छ । उहाँले बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने बताउनुभयो । “बाटो सबै विग्रेको छ । सानो पानी पर्ने वित्तिकै रोशी खोला आउने रैछ । खोला किनारमै बाटो भएकाले बाटो नै अवरुद्ध हुने रहेछ ,” उहाँले भन्नुभयो । सडकको अवस्था अत्यन्तै खराब छ । धुलो, खाल्डाखुल्डी, साँघुरो र अस्थायी डाइभर्सनहरू । यात्रुहरू पाँच घण्टासम्म जाममा बस्न बाध्य छन्, र कतिपयले खोला पार गर्दै पैदल यात्रा गर्नुपरेको छ ।
गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बिपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । मनसुन भएको बेला बाढी–पहिरोले पुर्याएको क्षतिको पुनःनिर्माण गर्न अर्को मनसुनको मुखमा निर्माण व्यवसायी परिचालन गर्ने तयारी सडक डिभिजन कार्यालयले गरेको छ । हुन त सडक डिभिजन भक्तपुर बिपी राजमार्गको भकुण्डेबसीदेखि नेपालथोकसम्म अस्थायी मर्मत गरिरहेको छ । तर अस्थायी मर्मतले पनि आवागमन सहज बनाएको छैन । पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि–मनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बिपी राजमार्गको कटुञ्जेदेखि बर्खेखोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रूपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रूपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।
असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ। खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ । असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रूपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ । पूर्ण रूपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन् ।
विपी राजमार्ग पूर्वी नेपाल र काठमाडौँलाई जोड्ने महत्वपूर्ण मार्ग हो । तर, बाढी र पहिरोले क्षतिग्रस्त बनाएको यो सडकको पुनर्निर्माणमा ढिलाइ हुँदा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।