शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गंगानारायण समूहले जेठ १२ गते माओवादीसँग एकता गर्ने

शुक्रवार , जेठ १०, २०८२

काठमाडौँ – नेपाल समाजवादी पार्टी९नेसपा०को गंगानारायण श्रेष्ठ समूहले मात्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ । पार्टी एकता गर्ने पूर्वसहमतिबाट अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ समूह माओवादीमा समाहित हुन लागेको हो ।

यसबारे निर्णय लिन सह–अध्यक्ष श्रेष्ठ समूहले जेठ ११ गते विस्तारित बैठक बोलाएका छन् । केन्द्रीय समितिको बहुमतले पार्टी एकताको निर्णय गर्ने र सिंगो पार्टी माओवादी केन्द्रसँग एकतामा जाने उहाँले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार दुई पार्टीबिच १२ गते एकता घोषणा गर्ने तय भएको छ । पूर्व–पश्चिम मध्यपहाडी मार्ग केन्द्रित अभियान अन्तर्गत जेठ १० गतेसम्मको कार्यक्रम सम्पन्न गरेर माओवादी टोली जेठ ११ गते काठमाडौँ आउँदै छन् ।

२०८० साल चैत ३ गते महिन्द्र सहितको समूहले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेको थियो । तर प्रचण्डले कोष्टमा रहेको माओवादी हटाउन सहमत नभएकाले तत्काल एकता प्रक्रियामा सहमत हुन नसक्ने महासचिव रमेशप्रसाद यादवले बताउनुभएको छ ।

यादव समूहले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेसपाको नाममा बोलाइएको केन्द्रीय समिति बैठक आधिकारिक नभएको जिकिर गरेको छ । साथै माओवादीसँग रुपान्तरणसहित एकता गर्न दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल समाजवादी पार्टीको नाममा २०८२ जेष्ठ ११ गते केन्द्रीय समितिको बैठक भनी प्रचार गरिएको जानकारीमा आएको हुँदा उक्त मितिमा पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ । नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताको सन्दर्भमा रूपान्तरण सहित एकता गर्न दृढ रहेको जानकारी गराउँदछु”, विज्ञप्तिमा भनिएको छ ।

बुधबार रुकुम पूर्व पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपासँग जेठ १२ गते एकता हुने बताउनुभएको छ ।

“विप्लवसँग पनि कुरा भैराखेको छ हामी मिल्न पर्छ भनेर । अनि बाबुरामसँग भएका चाहिँ शिक्षक त शतप्रतिशत एकतामा आए,” उहाँले भन्नुभएको छ, “अहिले बाबुरामसँग भएकामध्ये आधाभन्दा बढी ९नेपाल समाजवादी पार्टी० अब सायद १२ गते एकता हुन्छ । यहाँबाट हामी १० गते काठमाडौँ पुग्छौं । १२ गते एकता हुँदैछ ।”

प्रतिक्रिया