शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली कलाघर ः खर्च र आम्दानीमा शंका, छैन पारदर्शिता

सोमवार , जेठ ६, २०८२

सिन्धुली कलाघरको आम्दानी र खर्चमा पारदर्शिता नदेखिएको भन्दै स्थानियले चासो व्यक्त गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका ३ चपौलीमा रहेको कलाघरको आर्थिक पारदर्शिता नदेखिएको स्थानियको आरोप छ । सरकारी बजेट, दातृ सहयोग, महोत्सव, टिकट र विभिन्न कार्यक्रम लगायतको आर्थिक गतिविधि अझैसम्म सार्वजनिक रूपमा प्रस्तुत भएको छैन ।

गत चैत २८ गते देखि बैशाख ३ गते सम्म कलाघर सिन्धुलीले आयोजना गरेको महोत्सवको समेत आर्थिक गतिविधि सार्वजनिक भएका छैन । कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको नाममा दर्शकको मन जित्न सफल भएपनि आर्थिक पारदर्शिताले गर्दा कलाघरको आलोचना भइरहेको छ । कमलामाई नगरपालिका ५ का सन्तोष लामाले महोत्सवबाट संकलित रकम सार्वजनिक हुनुपर्ने बताउनुहुन्छ । उहाँ गत बैशाख १ गते ५० रुपैया टिकट काटेर कलाघरले आयोजना गरेको महोत्सव हेर्न पुग्नु भएको थियो । उहाँले भन्नुभयो, “महोत्सवले राम्रै नाफा भयो होला, दैनिक सयौँ दर्शक कलाघरमा महोत्सव हेर्न गएका थिए । कति जम्मा भयो र कति खर्च भयो भन्ने त थाहानै छैन । अन्य दिनमा पनि कलाघर अवलोकन गर्नजानेको संख्या बढी नै हुन्छ ।”

कलाघरमा विभिन्न सांस्कृतिक कार्यक्रम, नाटक, चित्रकला प्रदर्शनी तथा प्रशिक्षणहरू सञ्चालन हुँदै आएका छन् । तर यस्ता कार्यक्रमबाट उठेको रकम तथा खर्चको हिसाब सार्वजनिक नगरिँदा पारदर्शिता अभाव भएको भन्दै आलोचना सुरु भएको छ । स्थानिय मनोज न्यौपानेले भन्नुभयो, “कलाघरले कुनकुन ठाउँमा कार्यक्रम गरौं भन्ने सबै जानकारी हुन्छ तर आर्थिक कुरा केहि जानकारी हुदैन, व्यवस्थापनले पारदर्शी ढंगले जानकारी दिँदैन । कसरी आम्दानी हुन्छ, कसरी खर्च हुन्छ – केही थाहा पाइँदैन ।” कलाघर व्यवस्थापन समिति नाम मात्रको भएको र त्यसमा स्थानीय सहभागिता नभएको आरोप पनि लागेको छ । सिन्धुलीमाढी कै एक स्थानिय कलाकलारले भन्नुभयो, “स्थानीय कलाकारको पहुँच बाहिर व्यवस्थापन छ । न त आम्दानी विवरण सार्वजनिक छ, न त वार्षिक प्रतिवेदन देखिन्छ ।” बागमती प्रदेश सरकारले कलाघर निर्माणका लागि ४० लाख बजेट समेत दिएको थियो । कलाघरको आजिवन सदस्य हुने भन्दै विभिन्न व्यक्रिबाट रकम संकलन समेत गरिएको थियो भने कलाघरनिर्माणमा विभिन्न संघसस्था तथा सरकारी निकायबाट लाखौँ रकम संकलन भएको छ ।

स्थानीय तहले समेत हालसम्म कलाघरको आम्दानी–खर्च सम्बन्धी विवरण माग नगरेको देखिन्छ । यसले कलाघरको जिम्मेवारी र उत्तरदायित्वबारे थप प्रश्न उठाएको छ । जनताको करबाट निर्माण भएको र सार्वजनिक हितका लागि सञ्चालन हुने कलाघरमा पारदर्शिता र जवाफदेहिता नहुँदा नागरिक स्तरमै असन्तुष्टि बढ्दो छ । अब सम्बन्धित निकायले तत्काल सुधारका कदम चाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया