सिन्धुली,०५ जेठ – सिन्धुलीमाढीमा संचालन भएको फुड फेस्टिबल सकिएको दुइ हप्ता भयो । महोत्सव सकिएपछि सरसफाई नगरी आयोजक हराएपछि स्थानीयवासी असन्तुष्ट भएका छन् । सिन्धुलीमाढीको खुल्लामंचमा ११ दिन सम्म फुड फेस्टिबल तथा सिन्धुली महोत्सव आयोजन भएको थियो । आयोजनास्थल सरसफाई नहुदाँ सो क्षेत्र फोहोरमैला र दुर्गन्धले ग्रस्त बनेको छ । खाड्ल,बोतल, प्लास्टिकका खोल, खानेकुराका प्याकेट, कागज लगायतका फोहोर सामग्री यत्रतत्र छरिएका छन् । सिन्धुलीमाढीका एक स्थानियले भन्नुभयो, “हामीले सोच्यौं, कार्यक्रमपछि सरसफाइ टिम आउँछ होला । तर दुई हप्ता बितिसक्दा पनि कोही देखिएन ।”
महोत्सव जस्ता ठूला कार्यक्रममा सहभागीको सुरक्षाका साथै कार्यक्रमपछि वातावरण संरक्षण र सरसफाइलाई पनि प्राथमिकतामा राख्नुपर्ने सिन्धुलीमाढीका अशोकराज काफ्लेले बताउनुभयो । यस्ता घटनाले आगामी दिनमा कार्यक्रम सञ्चालनमा स्थानीयको असहयोग हुने डरसमेत बढेको उहाँले बताउनुभयो ।
मनोरञ्जन र सांस्कृतिक कार्यक्रमलाई स्वागत गर्नुपर्ने भए पनि त्यसपछि हुने प्रभावलाई व्यवस्थापन गर्न आयोजक, स्थानीय तह साथै प्रशासन र सहभागी सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । यदि तत्काल सरसफाइ नगरिए वातावरणीय जोखिमका साथै जनस्वास्थ्यमा समेत असर पर्न सक्ने चिन्ता बढ्ने उहाँ बताउनुहुन्छ । स्थानीय युवाहरूले फोहोर सफा गर्न स्वयंसेवी अभियान सुरु गर्ने चेतावनी दिएका छन् । “यदि अझ केही दिनमा सरसफाइ भएन भने हामी आफैं उत्रिनेछौं,” सामाजिक अभियन्ता सुरेश न्यौपानेले भन्नुभयो । यो घटनाले सार्वजनिक स्थलमा कार्यक्रम गर्दा उचित व्यवस्थापन र उत्तरदायित्वको आवश्यकतालाई उजागर गरेको उहाँले बताउनुभयो । आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्नुअघि स्पष्ट नियम र सर्तहरू लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
खेलमैदानमा नियमित खेल्ने युवाहरु आक्रोसित भएका छन् । एक युवकले भन्नुभयो, “खेलमैदानमा जहाँत्यहि खाडल छ । खाडलमा पानी जमेको छ, महोत्सवपछि भएको फोहोर अहिले सम्म सरसफाई हुन सकेको छैन । जिल्लाको सदमुकाममै रहेको खेलमैदानमा सरसफाई गर्न सबै आनाकानी गरिरहेका छन् । कमलामाई नगरपालिकाले पनि फोहोर उठाउन व्यवास्ता गरेको छ । आयोजक कहाँ बेपत्ता थाहा छैन, सरसफाई कसरी र कस्ले गर्ने थाहा छैन ।” स्थानीय समाजसेवी संस्था र युवाहरूले आफैं सरसफाइमा जुट्ने चेतावनी दिएका छन् । उनीहरूले भनेका छन्, “यदि अब पनि बेवास्ता गरियो भने हामी नै सरसफाइ गर्छौं र आयोजकविरुद्ध आन्दोलनको तयारी पनि गर्छौं । ”