सिन्धुलीको दुधौली नगरपालिकामा रहेको दुधौली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने भएको छ । बागमती प्रदेश सरकारले स्थानिय तहका अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने भएको हो । प्रदेश सरकारको नीति कार्यक्रम मार्फत आम नागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार सिन्धुली सहित अन्य जिल्लाको पाँच वटा स्थानिय तहका अस्पताललाई स्तरोन्नतिसहित विकास गर्ने प्रक्रिया अघि बढाएको हो । दुधौली अस्पतालको भौतिक पूर्वाधार १५ शय्या सञ्चालनका लागि पर्याप्त बनाउन सक्ने निष्कर्षसहित प्रदेश सरकारलाई सिफारिस गरेको छ । जनशक्ति, औजार उपकरण र सञ्चालन खर्च व्यवस्थापन गरी प्रदेश अस्पताल वा प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा समेत सञ्चालन गर्न सकिने कार्यदलको सुझाव छ । कार्यदलले अस्पताल पूर्ण प्रादेशिक स्वामित्वमा ल्याउने वा प्रदेश र स्थानीय तहको साझेदारी अस्पतालको रूपमा विकास गर्न गरी दुई वटा विकल्पसहित सुझाव दिएको छ । कार्यदलले प्रदेशको स्वामित्वमा ल्याउने गरी ती अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत तय गरेको छ । कार्यदलले तय गरेको प्रक्रिया अनुसार २५ शय्या अस्पताललाई आवश्यक पर्ने प्रक्षेपण गरिएको जनशक्तिको दरबन्दी संरचना, बजेट, कर्मचारी समायोजनसहित प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरी सहमतिका लागि संघ सरकारलाई सिफारिस गर्न सुझाव दिएको छ । त्यस्तै संघीय सरकारको सहमति पश्चात अस्पतालको स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीहरूलाई प्रदेशमा वा स्थानीय तहमा स्वेच्छिक समायोजन हुने अवसरका लागि मन्त्रिपरिषदबाट निर्णय गरी संघीय सरकारलाई अनुरोध गर्नुपर्ने हुन्छ । संघ, प्रदेश र स्थानीय तहको सहमतिमा स्वामित्व हस्तान्तरणको निर्णय गर्नुपर्ने कार्यदलको सुझाव छ ।
त्यसैगरी साझेदारीको रूपमा स्थानीय तहमा सञ्चालित अस्पताल विकास गर्ने प्रक्रिया मार्फत कार्यान्वयन गर्न कार्यदलको सुझाव छ । प्रदेश र स्थानीय तहको साझेदारी अस्पतालको रूपमा विकास गर्न संघ, प्रदेश र स्थानीय तहले विद्यमान कानुनमा संसोधन गरी अस्पताललाई साझेदारीमा सञ्चालन गर्न कानुनी व्यवस्था तय गर्नुपर्ने हुन्छ ।
प्रदेश र स्थानीय तहको सहमतिमा साझेदारीको कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने र स्थानीय तहको सहमतीमा प्रदेश सरकारले स्थानीय तहको २५ शय्या अस्पताल प्रदेश मन्त्रिपरिषद्बाट साझेदारीमा सञ्चालन गर्ने निर्णय गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले विशेषज्ञ सेवा उपलब्ध गराउन जनशक्ति र औजार उपकरणका लागि स्थानीय अस्पताललाई साझेदारीको हिस्सा अनुसारको बजेट उपलब्ध गराउने निर्णय गर्ने प्रक्रिया कार्यदलले तय गरेको छ ।
कार्यदलका अनुुसार साझेदारीमा अस्पताल सञ्चालनका लागि विशेषज्ञ जनशक्ति व्यवस्थापनमा साझेदारी गर्न सकिने सुझाव दिएको छ । जसका लागि विशेषज्ञ जनशक्ति व्यवस्थापनका लागि प्रदेशमा अस्थायी÷स्थायी दरबन्दी सिर्जना, खटनपटन, सेवा सुविधा र साझेदारीका लागि कार्यविधि निर्माण गरी कार्यान्वयन गर्न सक्ने सुझाव दिएको छ ।
बागमती प्रदेश सरकारले ५ वटा स्थानीय तहका अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको नीति कार्यक्रम मार्फत आम नागरिकको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्य अनुसार ५ स्थानीय तहका अस्पताललाई स्तरोन्नतिसहित विकास गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यक्रमको बुँदा नम्बर १२५ मार्फत बजेटसमेत विनियोजन गरेको थियो । प्रदेशका ५ स्थानीय तहका अस्पताललाई स्तरोन्नतिका लागि सरकारले ४ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको थियो ।
सोही बजेट कार्यान्वयन गर्न प्रदेशको स्वास्थ्य मन्त्रालयले एक कार्यदल बनाएर अध्ययनसमेत गरेको थियो । प्रदेशको स्वास्थ्य अवस्था र नागरिकको पहुँचको विश्लेषणसहित सिन्धुलीको दुधौली, चितवन माडी, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची, रामेछापको मन्थली अस्पताललाई स्तरोन्नतिसहित विकास गर्नेगरी कार्यदलले अध्ययन गरेको थियो ।