सिन्धुलीमा भर्खरै सरुवा भइ आउनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक ‐एसपी) लालध्वज सुवेदिलाई उद्योग वाणिज्य संघ सिन्धुलीले स्वागत गरेको छ । विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर संघले एसपी सुवेदिलाई स्वागत गरेको हो । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले एसपी सुवेदिलाई स्वागत गर्दै जिल्लाको शान्ति सुरक्षा, व्यापारिक वातावरण र कानुनी सुव्यवस्थाका लागि प्रहरी प्रशासनसँग सहकार्य गर्न संघ तत्पर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सुरक्षाको सवालमा प्रहरी प्रशासनसँग सधैं हातेमालो गर्न तयार छौं । व्यापारिक वातावरण सुरक्षित भए मात्र आर्थिक समृद्धि सम्भव छ ।“ कार्यक्रममा सहभागि व्यवसायी तथा व्यापारीले नयाँ एसपी सुवेदिको नेतृत्वमा जिल्लामा सुरक्षाको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एसपी सुवेदिले जिल्लालाई सुरक्षित, सुव्यवस्थित र व्यापारीमैत्री जिल्ला बनाउन क्रियाशील हुने बताउनुभयो । उहाँले स्वागतप्रति आभार प्रकट गर्दै भन्नुभयोे, “व्यापारी समुदाय जिल्लाको मेरुदण्ड हो । तपाईंहरूको सहयोगले मात्र अपराध नियन्त्रणमा सफलता मिल्न सक्छ ।” उहाँले आफ्नो कार्यकालमा कानुनी राज्यको प्रत्याभूति, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र जनसहभागिता बढाउने प्रतिबद्धता गर्नुभयो । उहाँले व्यापारी वर्गको चासो तथा सुझावलाई गम्भीरताका साथ लिने र सबैसँग सहकार्यमा काम गर्ने बताउनुभयो । यस कार्यक्रमले प्रहरी र व्यापारी समुदायबीचको सम्बन्ध अझ बलियो हुने विश्वास गरिएको छ ।