दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारमाथि बलात्कारको गम्भीर आरोप लागेपछि जिल्ला अदालत सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको दुइ हप्ता भइसकेको छ । तर हाल सम्म प्रहरीले मेयर अधिकारी दनुवारलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदिले मेयर फरार रहेकाले सुसूक्ष्म अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । उहाँले भर्खरै जिल्लामा सरुवा भएर आफु आएको बताउँदै यस घटनाको सत्यतथ्य छानविन गर्ने बताउनुभयो । “हिजोमात्रै यहाँ हाजिर भएको छु । यस घटनाको जानकारी लिरहेको छु । पक्राउ पुर्जी जारी भइसकेको छ, मेयर फरार छन् । सरकारी वकिल कार्यालयबाट थप अनुसन्धान गर्नु भन्ने आदेश आएको छ । त्यस अनुसार थप अनुसन्धान अगाडि बढाएका छौँ । मेयरलाई हामीले विभिन्न ठाउँमा खोजी कार्य गरिरहेका छौं । अनुसन्धान सुसूक्ष्म रूपमा अगाडि बढिरहेको छ,” उहाँले भन्नुभयो ।
जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको भए पनि प्रहरीले उहाँको ठेगाना, सम्भावित स्थान र सम्पर्क माध्यमहरूमा खोजी गर्दा पनि फेला पार्न नसकेको बताएको छ । प्रहरी स्रोतका अनुसार पीडित बालिकाले मेयरमाथि बलात्कारको उजुरी दर्ता गरेपछि प्रारम्भिक अनुसन्धान थालिएको थियो । प्रमाणको आधारमा अदालतबाट पक्राउ अनुमति लिएपछि खोजी कार्य थप तीव्र पारिएको हो । पीडित पक्षले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै दबाब दिइरहेका छन् । उनीहरूले दोषीले पदको आडमा उम्कन खोजेको भन्दै प्रहरी प्रशासनको सक्रियता माग गरेका छन् । हालसम्म मेयरको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । नगरपालिकाले पनि घटनाबारे मौनता कायम राखेको छ ।प्रहरीले भने अनुसन्धानलाई गम्भीरताका साथ अगाडि बढाइरहेको जनाएको छ । “कसैलाई पनि उम्कन दिइने छैन । कानूनअनुसार प्रक्रिया पूरा गरेर दोषीमाथि कारबाही हुन्छ,” उपरिक्षक सुवेदिले भन्नुभयो ।
यहि बैशाख ११ मा १८ वर्षीया किशोरी ‘सिन्धुली १६’ले मेयर अधिकारी दनुवारले मदिरा सेवन गराई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको छ । आफू १७ वर्षको हुँदा बिरामी दाइको उपचारमा सघाउने प्रलोभनमा पारेर मदिरा सेवन गराई मेयरले बलात्कार गरेको आरोप छ । दुधौलीकै एक क्याफेसहितको गेस्ट हाउसमा आफूलाई जर्बजस्ती गरेको पिडितको आरोप छ । पिडित ‘सिन्धुली १६’ले गत फागुनमै बच्चासमेत जन्माइसक्नु भएको छ ।
मेयर अधिकारी गत २०७९ को स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फबाट दुधौली नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।