काठमाडौँ, १७ वैशाख- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ पर्नुभएको छ । आज नाउपा र जनमत पार्टीको एकता सभा गर्ने तयारी गरिरहेकै बेला चौधरीलाई कमलादीबाट प्रहरीले चौधरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले बताउनुभयो ।
टीकापुर घटनापछि पाँच वर्ष सजाय भोग्नुभएका चौधरीलाई गणतन्त्र दिवसको दिन गत जेठ १५ गते आममाफी दिइएको थियो । सोपछि उहाँ रिहा हुनुभएको थियो । त्यसको विरुद्धमा टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
एसएसपी अधिकारीका अनुसार टिकापुर घट्नाका सन्दर्भमा सर्वाेच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको छ । ।
चौधरी संरक्षक रहेको नाउपा र जनमत पार्टीबिच आज पार्टी एकता घोषणा गर्ने तयारी गरिएको थियो । चौधरीको पक्राउसँगै एकता घोषणा गर्ने कार्यक्रम बिथोलिएको छ । पाँच वर्ष ३ महिना जेल सजाय भुक्तान गर्नुभएका चौधरी २०८० जेठ १५ गते आममाफी पाएपछि रिहा हुनुभएको थियो । २०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा नाबालकसहित आठ जनाको ज्यान गएको थियो ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।