सिन्धुली, १६ वैशाख – सिन्धुली जिल्लामा तीन ठूला राष्ट्रिय राजमार्ग निर्माणसँगै ग्रामीण क्षेत्रमा समेत सहरीकरण बढ्दै गएको छ । बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी लोकमार्ग (धरान चतरा–सिन्धुली– हेटौडा) सडक निर्माणसँगै ग्रामीण क्षेत्रका बजारमा शहरीकरण बढ्दै गएको हो ।
सडक बनेसँगै जिल्लाका विभिन्न ग्रामीण ठाउँमा सहरीकरण हुँदै गरेको देख्न पाइन्छ । पुराना बजार सहरमा परिणत हुँदै गएका छन् भने नयाँनयाँ बजार, चोक निर्माण हुन थालेका छन् । गाउँका बासिन्दा सडकछेउ उक्लिन थालेका छन् । सडकले छोएका क्षेत्रमा नयाँ घर बनिरहेका देख्न पाइन्छ भने जग्गाको भाउ बढ्दै गएको छ । राजमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा बजार बन्ने क्रम बढेको छ ।
सिन्धुलीको ग्रामिण क्षेत्रको काया बदलिएको अनुभव यहाँका बासिन्दाको छ । गोलन्जोर गाउँपालिका खुर्कोटका सरद आचार्य भन्नुहुन्छ, “लोकमार्गले खुर्कोटलाई जीवन दिएको छ । सुविधा थपिएको छ । विद्यालय र स्वास्थ्य केन्द्र नजिक भएका ठाउँमा बसाइँ सरेर आउने गरेका छन् । पहिले तराई र सहर बसाइँ सर्ने चलन थियो । अचेल गाँउमै सडकछेउ आउने क्रम बढेको छ । नयाँ घर थपिएका छन् ।”
आचार्यले भने झैं सडक आसपासमा घर बनाउने क्रम बढेको छ । खाजा, खाना मिल्नेदेखि बस्नेसम्मका होटल, नयाँ सुविधासँगै विस्तार हुन थालेको छ । राजमार्गलाई आधार बनाएर गाउँ जाने सडक सञ्जाल बनेका छन् । पुराना घर विस्तापित हुँदै गएका छन् ।
ग्रामीण क्षेत्रमा चहलपहल बढेको देखिन्छ । गफिने चोक, चियापसल ठाउँठाउँमा भेटिन्छन् । सडक आसपासापमा साना ठूला बजारहरू स्थापित हुने क्रममा छन् । सडकछेउमा पूर्वदेखि पश्चिमसम्म घर बनाउँदै गरेको देख्न पाइन्छ । सडकछेउमा घर बनाउने, व्यापार व्यवसाय गर्ने देख्न पाइन्छ । राजमार्ग बनेर गाडी चल्न थालेपछि होटलहरू खुलिरहेका छन् । स्थानीय स्तरमा एक प्रकारको उत्साह देखिन्छ । जग्गाको मोल विस्तारै बढ्दै गएको पाइन्छ । “सडकछेउमा चहलपल बढेको छ । घर, होटललगायत व्यवसाय सञ्चालन भइरहेको देखिन्छ,” खाङसाङका नवराज पाहडी भन्नुहुन्छ, “स्थानीय उत्पादन विक्री वितरणसँगै बजारीकरणमा पनि योगदान पुगेको देखिन्छ ।”
उहाँले भन्नुभयो,“बिरगञ्ज, जनकपुर र काठमाडौंमा पाइने सामान गाउँमै पाइन्छ । गाउँमा सुविधा आएको छ । गाउँमै किन्न पाएपछि सुविधा हुने नै भो नि ।”
सिन्धुलीका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिउपजलगायत गाउँबाटै निकासी हुन्छ । सहरमा पाउने सुविधा गाउँमै आएको स्थानीय सुनाउँछन् । “गाउँमा फलेको कुरा बेच्न सजिलो भयो । बरु उत्पादन छैन । ढाकरमा नुन बोकेर ल्याउनुपर्ने कुरा गाडीले गाउँगाउँमा ल्याएको छ,” पहाडीले भन्नुभयो, “अब फलाउनेतर्फ ध्यान दिनुपर्ने अवस्था छ ।”
स्थानीय तहका केन्द्रहरू राजमार्गकै आसपास बनेका छन् । गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको देखिन्छ । सिन्धुलीको गोल्टार, खाङसानलगाय क्षेत्रमा बजारीकरण बढेको देखिन्छ । पुराना बजार विस्तारित छन् ।
सुनकोसी नदीमा रामेछाप र सिन्धुली जोड्ने पुलले यस क्षेत्रमा निक्कै ठूलो राहत पुगेको देखिन्छ । रामेछापलाई संघीय राजधानीसँग जोड्न पनि यसको योगदान छ ।
मदन भण्डारी राजमार्गस्थित दुधौली नगरपालिकाको दुधौली र मरिण गाँउपालिकाको मरिण क्षेत्रमा सहरीकरण बढ्दै गएको छ । पुरानो दोस्रो सदरमुकाम भनिने भिमानबजार भन्दा बढी शहरीकरण यस क्षेत्रमा हुदै गएको छ । टायल, ब्लक र काठ लगायतले निर्माण भएका घरहरु धमाधम पक्कि संरचना परिणत हुदै जान थालेको स्थानिय बताउछन् ।
“अबको पाँच बर्षमा दुधौली ठुलै शहर बन्छ,” स्थानिय रोशन नायकले भन्नुभयो, “अहिले यहाँको संरचना र बजारनै व्यवस्थित बन्दै गएको छ । मदन भण्डारी लोकमार्ग दुधौली हुदै निर्माण भएपछि व्यापार व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाईमा पर्न थालेको छ ।” दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा पाँच देखि आठ हजारसम्म पर्न थालेको स्थानीय बासिन्दा बताउछन् । “स्थानीय वरपरका सबै गाँउबस्तिको किनमेल गर्ने बजार दुधौलीनै हो,” उहाँले भन्नुभयो, “दिन दिनै सुविधा थपिदै जाँदा दुधौली बजार सबैको रोजाईमा पर्न थालेको हो ।”
उहाँका अनुसार दुधौलीमा मध्यक्षेत्रिय प्रहरी तालिम केन्द्र आएपछि थप शहरीकरण बढ्न थालेको छ । ‘केहि बर्षदेखि पुराना संरचना भत्काएर धमाधम पक्कि संरचना बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘पक्कि संरचना बन्न नपाउदै भाडामा लागि हाल्छ । मदन भण्डारी लोकमार्गमै पर्ने मरिणको कपिलाकोट, सहान लगायतका बजारमा शहरीकरण बढ्न थालेको हो । सामान्य फाट्फुट् मात्र किराना पसल रहेको मरिण क्षेत्रमा हाल सुविधायुक्त बजारको रुपमा विस्तार हुदै गएको स्थानीय बताउछन् ।