काठमाडौँ, १६ वैशाख – प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभएको थियो । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभएको थियो ।
सांसद पाण्डेले संसदमा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताउनुभयो । शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहनुभएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गर्नुभयो । शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुंग्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । “सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उहाँले बताउनुभयो ।