शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा बालविवाहको उजुरी दर्ता बढदै, प्रहरीको कडा निगरानी

मंगलवार , बैशाख १६, २०८२

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा केहि दिन अगाडि प्रहरी विवाह रोक्यो । उमेर नपुगि विवाह गर्न लागेको थाहा पाएपछि तत्काल प्रहरी पुगेर विवाह रोकेको हो । गोप्य सूचनाको आधारमा बालविवाह हुनलागेको जानकारी पाएपछि बिबाहस्थलमा पुगेर विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार विवाह रोकी बालिका साथै युवकलाई अभिवाकको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ४ वटा बालविवाहको उजुरी दर्ता भएको छ । चालु आर्थिक वर्षको हाल सम्म चारवटा उजुरी दर्ता भएको हो । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँबाट बालविवाह सम्बन्धी उजुरी प्रहरी कार्यालयमा दर्ता हुन थालेका छन् । समाजमा चेतनाको स्तर बढेसँगै बालविवाहजस्ता गैरकानुनी क्रियाकलापविरुद्ध स्थानीय बासिन्दा र बाल अधिकारकर्मी अग्रसर भएका छन् । प्रहरी उपरिक्षक काफ्लेले भन्नुभयो “पहिले बालविवाह भएपनि उजुरी कम आउने गथ्र्यो, अहिले भने सचेत नागरिक र बाल संरक्षण समूहहरूले सक्रियताका साथ प्रहरीमा सूचना दिने क्रम बढेको छ ।“ उहाँका अनुसार उजुरी परेका अधिकांश घटनामा १५ देखि १७ वर्ष उमेरका किशोरीहरूलाई जबरजस्ती विवाह गराइएको वा पारिवारिक दबाबमा विवाह गराइने प्रयास गरिएको पाइन्छ । प्रहरीले सबै उजुरीलाई प्राथमिकताका साथ अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ । नेपालको संविधान र मुलुकी अपराध संहिता अनुसार २० वर्ष नपुगी विवाह गर्न वा गराउन निषेध गरिएको छ । यस्ता घटनामा संलग्नहरूलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

जिल्लाको एक बाल अधिकार अभियन्ताले भन्नुभयो, “बालविवाह केवल कानूनको उल्लंघन मात्र होइन, बालबालिकाको शिक्षादेखि स्वास्थ्यसम्म सबै क्षेत्रमा दीर्घकालीन असर पार्ने अपराध हो ।“ उहाँले प्रहरीले उजुरीलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान थालेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

सामाजिक अभियन्ताहरूका अनुसार विभिन्न जागरण अभियान, विद्यालयहरूमा सञ्चालित चेतनामूलक कार्यक्रम, र सञ्चारमाध्यमबाट हुने निरन्तर प्रसारणले गर्दा बालविवाहप्रति समाजमा नकारात्मक दृष्टिकोण बढ्न थालेको छ । तर ग्रामीण क्षेत्रहरूमा अझै पनि बालविवाह लुकीछिपी गराउने प्रवृत्ति कायम रहेको जनाइएको छ । प्रहरीले यस्ता क्षेत्रहरूमा विशेष निगरानी र स्थानीय तहसँग समन्वय गरेर कारबाही अघि बढाउने योजना बनाएको छ ।

प्रहरीले बालविवाहसम्बन्धी कुनै पनि घटना देखेमा वा जानकारी भएमा तत्काल प्रहरीलाई खबर गर्न नागरिकहरूलाई अनुरोध गरेको छ । उजुरीकर्ताको नाम गोप्य राखिने र पीडित बालबालिकालाई संरक्षण दिइने प्रहरी प्रवक्ताले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया