काठमाडौं – सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकठाउँ जम्मा भएका छन् । यसअघि दुई चिरामा विभाजन भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामो समयपछि एकै ठाउँ देखिनुभएको छ ।
उहाँहरूले एउटै मञ्च सेयर गर्नुभयो । अंकमाल गर्नुभयो । र, पछिल्लो पटक बढ्दै गएको राजावादी आन्दोलनलाई समेत बल पुग्नेगरी एकताको सन्देश नै जारी गर्नुभयो । दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्ने तर्क अघि सार्नुभएको छ । दुवैलाई सभालाई सम्बोधन गर्दै एक हुनुको विकल्प अब नभएको पनि बताउनुभएको छ ।
सँगसँगै गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको माहोल र १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनयता फरकफरक अभियानजस्तो चलाएका नेताहरू पनि एक ठाउँमा देखिनुभएको छ ।
शान्तिबाटिकामा आयोजित सभामा राप्रपाका नेताहरू धवलशमशेर राणा, महामन्त्री कुन्ति शाही लगायत पुग्नुभएको थियो । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत पनि सभामा पुग्नुभएको थियो । उहाँहरू सबैले एक भएर अघि बढ्ने संकल्प समेत गर्नुभएको छ ।
सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट, शिव सेना नेपालका उपाध्यक्ष गंगा चौधरी लगायतले सभालाई सम्बोधन गर्नुभएको थियो ।
उनीहरु तीनकुने घटनामा सरकारबाटै दमन भएको बताए । थुनामा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम लिँदै रिहा गर्नुपर्ने माग गरे । तीनकुने घटनाका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंको नाम भने कसैले लिएनन् ।
सरकारले नै कार्यक्रम नै गर्न नदिई भड्काउने योजना अनुसार अश्रु ग्यास प्रहार गरेको आरोप लगाएका उनीहरुले प्रसाईंका बारेमा नबोली आफ्नो मन्तव्य टुंग्याएका थिए । उक्त सभामा प्रसाईंको नाम लिएर बोल्ने एक जना व्यक्ति मात्रै हुनुहुन्थ्यो, सतिश पोखरेल । उहाँ दुर्गा प्रसाईंको महाअभियानमै रहेका व्यक्ति हुनुहुन्छ ।
उहाँले सुरुमै सम्बोधन गर्दै प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँ बाहेक राजावादी नेताहरुले प्रसाईंको नाम नै उच्चारण नगरी सभा सकिएको थियो ।