शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

शिक्षकको आन्दोलनमा पुगेका माधव नेपालसहित नेताविरुद्ध नाराबाजी

सोमवार , बैशाख १५, २०८२

काठमाडौं,१५ बैशाख – विगत २७ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार केही राजनीतिक अनुहार पनि देखिए । शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन सोमबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू बिजुली बजार पुग्नुभएको थियो ।

उहाँहरूले शिक्षक आन्दोलनलाई समर्थन गर्न खोज्दा उल्टै नाराबाजी खेप्नुपरेको छ । बिजुली बजारमा नेताहरूको लर्कोसहित पुगेका नेपालसहितले शिक्षकहरूको नाराबाजी खेप्नु परेको हो । अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू बिजुली बजार पुगेर महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसँग फोटो÷भिडियो पनि खिचाउनुभयो ।

तर त्यसपछि करिब एक महिना लामो आन्दोलनका कारण तनावमा रहेका शिक्षकहरूले उहाँहरूविरुद्ध खबरदारीसहित नाराबाजी गरे । शिक्षकहरूले नाराबाजी गर्न थालेपछि सबै नेताहरू केही मिनेटमै त्यहाँबाट बाहिरिए । उनीहरूलाई सुरक्षाकर्मीले एस्कर्टिङ गरेर निकाले ।

शिक्षकहरूले बिजुलीबजारबाट एनसेलको पुरानो कार्यालय क्षेत्रमा उनीहरू र सरकारविरुद्ध नाराबाजी गरे । शिक्षकहरूले नाराबाजीका क्रममा ‘कोही नेता आउनुपर्दैन’, शिक्षा ऐन जारी गर, सरकारको दमन बन्द गर जस्ता नारा लगाए । आन्दोलनमा सहभागी शिक्षकहरूले उहाँहरूलाई ससंदमा आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।

शिक्षकहरूले आन्दोलनमा आउनुभन्दा संसद्मा प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाब बढाउन पनि उनीहरूलाई भनेका थिए । लगत्तै, उहाँहरू प्रदर्शनस्थलबाट बाहिरिनुभएको थियो । बाहिरने क्रममा अध्यक्ष नेपालले भन्नुभयो, “अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।”

प्रतिक्रिया