काठमाडौँ, १४ वैशाख– प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गर्नुभएको छ ।
बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गर्नुभएको हो । उहाँले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह गर्नुभयो ।
सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा केही दिनअघि भएको आतंककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।
सांसद फारुकीले देशभित्र सामााजिक सदभावमा खलल पुर्याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पुर्याएको भन्दै आपत्ति जनाउनुभयो ।
सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्र केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले निजको खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मु कश्मिरमा आंतंककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गर्नुभयो ।
सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा आमा पवित्रा साह र तीन छोराछारीको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले यो घटनाको छानबिन हुनुपर्छ भन्नुभयो ।
सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभयो ।
सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको वीभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गर्नुभयो । साथै उहाँले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गर्नुभयो ।