शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा दश महिनामा ५६ वटा बैँकिङ कसुरको मुद्धाः १२ जना पक्राउ

आइतवार , बैशाख १४, २०८२

सिन्धुली – सिन्धुलीमा पछिल्लो समय बैकिङ कसुरको मुद्धा बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार १० महिनामा मात्रै जिल्लामा ५६ वटा उजुरी परेका छन् । ती मध्ये ३३ वटा मुद्धा दर्ता भएका छन् भने २३ वटा दर्ता हुन बाकिँ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । बैँकिङ कसुरको मुद्धामा १२ जना पक्राउ भइसकेका छन् । २१ वटा मुद्धा फर्छौट भएको छ भने १२ वटा बाकिँ रहेको उहाँले बताउनुभयो ।

प्रहरीको तथ्यांकअनुसार चेक बाउन्स, ठगी, नक्कली कागजात तयार पार्ने तथा बैंकिङ प्रणालीको दुरुपयोग गरी अवैध कारोबार गर्ने जस्ता मुद्दाहरू उल्लेख्य रूपमा वृद्धि भएका हुन् । चेक काटेर रकम भुक्तानी नगर्ने घटना सबभन्दा बढी देखिएको छ । प्रहरी उपरिक्षक काफ्लेले भन्नुभयो, “वित्तीय कारोबारमा अनुशासन नहुँदा तथा सजगता नअपनाउँदा बैंकिङ कसुरका उजुरी बढेका हुन । हामीले उजुरी आएपछि कानुनी प्रक्रिया अनुसार छानबिन र कारवाही गरिरहेका छौं ।“

उहाँका अनुसार अधिकांश उजुरीहरू व्यापारिक कारोबारमा भएको लेनदेनका कारण आएका छन् । व्यापारीहरूले मालसामान किनेर चेक तिरेका तर चेक अस्वीकृत भएका, वा रकम नभएको कारण चेक बाउन्स भएका घटना बढी छन् ।

प्रहरीले बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिएको छ । फरार रहेको प्रतिवादीकोे खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी नक्कली कागजात तथा ठगीका घटना पहिचान गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । साथै, वित्तीय कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई समेत आग्रह गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार, चेक बाउन्स वा बैंकिङ कसुरमा संलग्न पाइएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय र बिगो बराबर जरिवानाको व्यवस्था गरिएको छ । साथै, पीडितले क्षतिपूर्ति पाउने अधिकार सुरक्षित गरिएको छ ।

सिन्धुली प्रहरी कार्यालयले वित्तीय कारोबार सुरक्षित र पारदर्शी बनाउन व्यापारी, उद्योगी तथा सर्वसाधारणलाई वित्तीय साक्षरताको अभिवृद्धि गराउने योजना अघि सारेको छ ।

जिल्लामा वित्तीय अनुशासनको कमी, असफल व्यवसायिक योजना, र बजारमा भएको अस्थिरताले गर्दा चेक बाउन्सका घटना बढेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो । केही व्यक्तिहरू जानाजानी ठगी गर्ने नियतले पनि चेक काट्ने गरेको अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो ।

प्रहरीले बैंकिङ कसुर न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ । बैंकिङ प्रणालीको दुरुपयोग रोक्न जनचेतनामूलक कार्यक्रम, व्यवसायीहरूलाई कानुनी प्रशिक्षण, र फरार अभियुक्तको सक्रिय खोजी अभियान अघि बढाइएको छ ।

प्रहरी उपरिक्षक काफ्लेले भन्नुभयो, “वित्तीय कारोबार गर्दा सावधानी अपनाउन सबैलाई आग्रह गरिन्छ । गलत चेक कारोबार नगर्नुहोस्, नत्र कानुनी कारवाही अपरिहार्य हुन्छ ।“

प्रतिक्रिया