सिन्धुली – सिन्धुली अस्पतालको सम्पूर्ण सेवा बन्द भएको छ । शुक्रबार अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द भएको हो । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए)ले गरेको आन्दोलन अनुसार जिल्ला अस्पताल सिन्धुलीको सेवा बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिषेक थपलियाले बताउनुभयो ।
दातको उपचार गर्न आउनुभएको कमलामाई नगरपालिका १२ का सन्तोष नेपाली अस्पतालको सेवा बन्द रहेको भन्दै फर्किनुभयो । उहाँले भन्नुभयो, “एक हप्ता देखि दात दुख्ने समस्या भएपछि अस्पताल आएको थिए । डाक्टरको आन्दोलन भन्ने थाहै भएन, अस्पताल बन्द रहेछ । अर्को दिन फेरि आउनुपर्ने भयो ।”
कमलामाई नगरपालिका ८ का रिता कार्कीपनि अस्पतालको सेवा बन्द भएपछि घरफकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आमालाई ज्वरो आएकाले अस्पताल आएको थिए । उपचार हुदैन भने पछि घर फर्किन लागेको हुँ ।”
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर नेपाल चिकित्सक संघ (एनएमए)ले थप आन्दोलन घोषणा गरेको हो । शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ ।
बिहीबार माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको संवादबाट निकास ननिस्केपछि थप आन्दोलनका कार्यक्रम अघि सारिएको हो । केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई निरन्तरता दिने संघले जनाएको छ ।
एनएमएले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको थियो ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर निजी मेडिकल सञ्चालकले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन् । सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।