सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका निर्मल थापा बिहानी हिँडाइमा निस्किनुहुन्छ । नियमित घरबाट कनपा ५ को सिलामेसम्म बिहानी हिँडाइ गर्दा आजभोलि उहाँलाई केही असहज भएको महसुश हुन्छ । “केही दिनयता आँखा पोल्ने र श्वास फेर्न पनि गाह्रो भएको महसुस भइरहेको छ” उहाँले भन्नुभयो, “पहिले स्वच्छ शीतल हावाले फ्रेस बनाउथ्यो । अहिले त्यहि स्वच्छ र मिठो हावा दिने वनबाट डढेको दुर्गन्ध फैलिएको छ ।” बिहान स्वच्छ शीतल हावामा टहलिने वातावरण नभएको थापाले बताउनुभयो ।
सुख्खायाम शुरु भएसँगै सिन्धुलीमा आग्लागीको घट्ना बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुक्खा र हावाहुरीको मौसम शुरु भएपछि जिल्लामा झण्डै एक दर्जन आगलागीका घट्ना घटेका छन् । आगलागी प्राय मानविय तथा प्राविधिक त्रुटिका कारण हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “असावधानी तथा स्थानीय जंगलहरूबाट सल्केको आगोका कारण वनमा आगो लाग्ने गरेको छ ।”
पछिल्लो तथ्यांक अनुसार जिल्लाका अधिकांश वनमा डढेलेको लागेको छ । चुरे क्षेत्रका वनमा अहिले डढेलोको धुवाँ र मुस्लो देखिन्छ । डढेलोले चुरे मात्र होइन, सामुदायिक वनमा समेत प्रभाव परेको छ । कमलामाई नगरपालिका ४ का मदन श्रेष्ठ घरमा पालेका पशु चौपायालाई जंगलबाट घाँस काटेर ल्याउने अवस्था नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पशु चौपायालाई आहारा त छैननै आफ्नै घरपनि कुन बेला डढेलोले सोत्तर पार्छ भनेर रातको निन्द्रानै हराउँछ ।” उहाँले भन्नुभयो, “आगलागी नियन्त्रणमा लिन कसैले पनि चासो नदिएको अवस्था छ । भर्खरै सिन्धुलीमा नयाँ दमकल आएको सुनेको थिए । तर, राजमार्गबाट केहि मिटर परको जंगलमा आगो दनदनि बलिरहदा पनि दमकल आएन ।” गाउँलेले डढेलो निभाउन नजानेको र डढेलो निभाउने कुनै साधन पनि नभएको श्रेष्ठले बताउनुभयो ।
विपी राजमार्ग हुदैँ काठमाडौँ जान लाग्नुभएका झापाका रबि अधिकारीले डढेलोँ बढेसँगै वायु प्रदुषण बढेको बताउनुभयो । राजमार्गमा यात्रा गर्दा आँखा पोल्नेदेखि बाटो स्पष्ट नदेखिने गरेको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जंगलमा डढेलो लाग्दा गएका केहि दिनदेखि वातावरणमा प्रतिकुल असर परेको छ । धुवाँले गर्दा आँखा पोल्ने, श्वास फेर्न समस्या भएको छ । प्रदुषण बढेको छ ।” धुवाले आँखा पोल्दा समस्या भएको बताउनुहुन्छ कमलामाई नगरपालिका २ स्थित चियाबारी की सिता कार्की । जंगल नजिकै घर छ, जंगलबाट निस्केको धुवाँले आँखा पिरो हुने तथा श्वास फेर्न असहज भएको उहाँले बताउनुभयो ।
डढेलोको धुवाँले आँखामा प्रत्यक्ष असर गर्ने जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत एक डाक्टरले बताउनुभयो । डढेलोले वातारणमा असर गर्नुका साथै मानवयि स्वास्थ्यमा समेत खेलबाँड गरिरहेको ती चिकित्सकले बताए । वन्यजन्तुको बासस्थानमा खराब गरेको उहाँले बताउनुभयो । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट अन्यन्त्र सर्दा गाउँबस्तीमा निस्कने खतरा बढेको उहाँले बताउनुभयो । सिन्धुलीमा पाँच सय बढि सामुदायिक वन छन् । प्रायः सबै वनजंगलमा डढेलो लाग्न सुरु भइसकेको छ । अनुसार सामुदायिक वनले काठ दाउरा बेच्न नसक्दा वनजंगल संरक्षणप्रति नागरिकको अपनत्व घट्दै गएको छ । चालू वर्षमा वन डढेलो सम्बन्धी सचेतनाको कार्यक्रम समयमै हुन नसक्दा पनि समस्या भएको स्थानिय बताउँछन् ।
डढेलोले वनै सखाप पारिरहदा राजमार्ग आसपासका क्षेत्रमा समेत आगलागीले हैरान बनाएको कमलामाई नगरपालिका १ का विष्णु तामाङले बताउनुभयो । राजमार्गमा यात्रा गर्ने अधिकांश यात्रुको आँखा पोल्ने लगायत आँखा तथा श्वाँसप्रश्वासको समस्या देखिने गरेको उहाँले बताउनुभयो । त्यसैगरि, डढेलो लागेसँगै वन्यजन्तु बस्ति पस्न शुरु गरेको उहाँले बताउनुभयो । “सुख्खा र हावाहुरिको मौसममा आगलागी भइरहेको छ । तर, तस्करले पासो थापेर वन्यजन्तुको सिकार गरिरहेका छन् ।” जिल्लाको सदरमुकाममै रहेको सिन्धुलीमाढीकै केहि जंगलमा मृग समेत फेला पार्न मुश्किल हुने गरेको कमलामाई नगरपालिका ५ सिलामेका राधा श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगलागीको समस्या त छदैँ छ, उता तस्करले वन्यजन्तु सखाप पार्न थालो ।”