सिन्धुली – सिन्धुलीमाढीमा आगामी बैशाख ११ गते देखि फुड फेस्टिभल तथा महोत्सव सुरु हुदै छ । ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्ट सिन्धुलीले ११ दिन सम्म महोत्सव गर्ने भएको हो । यस अगाडी पनि ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्टले जिल्लामा आयोजना गरिएका महोत्सव साथै कार्यक्रममा देखिएको विकृति, अवैध खेल र झैझगडाको घटनाले अझै ताजा घाउ बनिरहेको बेला पुनः यस्तै खालको महोत्सव आयोजना गरिन लाग्दा स्थानीयवासीमा गम्भीर चिन्ता बढेको छ । ‘संस्कृति र विकास प्रवद्र्धन’ को नाममा आयोजना गरिने भनिएको महोत्सवको वास्तविकता अघिल्ला संस्करणहरूमा पूर्णतः भिन्न देखिएको थियो – जहाँ साँस्कृतिक कार्यक्रमको आडमा जुवा, मद्यपान, अश्लील नृत्य र झैझगडाको प्रबृत्ति हावी देखिएको थियो ।
महोत्सवमा मनोरञ्जनका नाममा रातभर हुने अश्लील नृत्य, मद्यपान, जुवा तथा सट्टेबाजी खुलेआम चल्ने गरेको एक स्थानियले सिन्धुली सौगातलाई बताए । उहाँले भन्नुभयो “पारिवारिक वातावरणमा जान मिल्दैन, बालबालिका लिएर महोत्सव गएको पछुतो हुने अवस्था छ । यो उत्सव हैन, उच्छृंखलताको थलो बनेको छ ।” सिन्धुलीमा यही वैशाख ११ गते देखि २१ गते सम्म फुडफेस्टिभल तथा महोत्सवको आयोजना गरिँदैछ । अहिले पनि उस्तै स्टल, साँझपखको सांगीतीक कार्यक्रम र सट्टेबाजी खेल समावेश गरिएको प्रारम्भिक जानकारी आएको छ । आयोजकले अझैसम्म सार्वजनिक रूपमा अघिल्लो कमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छैनन् ।
अगाडीको वर्षमा ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्टले आयोजना गरेको महोत्सवमा अवैध खेल खुलेआम सञ्चालन भएको थियो । लक्की ड्रको नाममा सट्टेबाजी, टोकन सटहीमा तास, रिङ फाल्ने जस्ता जुवा खेलहरू चलाइयो। स्थानीय प्रशासनको आँखा अगाडि भइरहे पनि कुनै कारबाही भएन । “बच्चा लिएर गएका थियौँ, तर भित्र पसेपछि जुवा घरजस्तो लाग्यो,” एक स्थानीय अभिभावकको गुनासो थियो । सांस्कृतिक कार्यक्रमका नाममास्टेजमा प्रस्तुत गरिएका गीत र नृत्यमा अश्लीलता, अभद्र व्यवहार र आपत्तिजनक शब्द प्रयोग भएको थियो ।
कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयले महोत्सवको निगरानीमा कस्तो भूमिका खेल्ने हो भन्ने स्थानिय स्पष्ट छैनन् । अघिल्लो वर्ष महोत्सवमा विकृति, अवैध खेल र झैझगडाको गतिविधि भए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै यसपटक पनि नागरिकहरूले आशंका गरेका छन् ।
स्थानीय सामाजिक अभियानकर्ता सुरेश न्यौपानले भन्नुभयो “हामी महोत्सवको विरोधमा होइनौं, तर संस्कृति बिगार्ने, युवा भड्काउने, र अश्लीलता फैलाउने कार्यक्रमको विरोधमा छौं । प्रशासनले कडाइ गर्नुपर्छ ।” यहाँका अनुसार, महोत्सवका नाममा हुने यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश दिनुका साथै स्थानीय जनजीवनमा असुरक्षा फैलाएको छ ।