सिन्धुली – सिन्धुलीमा दिनहुँ बत्ती झ्याप्झ्याप हुदाँ स्थानीय आक्रोसित भएका छन् । जिल्लामा पछिल्लो समय बत्ति आउने– जाने समस्याले स्थानीय हैरान भएका हुन् । दैनिक सयौँ पटक बत्ती झ्याप्झ्याप हुने गरेको उपभोक्ताले गुनासो गरेका छन् । अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन । छिनमै बिजुली बल्छ छिनमै काटिन्छ । दिनको आधा समय त उपभोक्ताले बिजुली प्रयोग गर्न पाएका छैनन् ।
अनियमित तरिकाले बिजुली काटिँदा सदरमुकाम र आसपासका व्यवसायीहरु बढी मारमा परेका छन् । कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा छन् । “उखरमौलो गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जान्छ” होटल व्यवसायी सविना श्रेष्ठले भन्नुभयो, “विद्युत प्राधिकरणको असावधानीले दैनिक घाटा व्यहोर्नु परेको छ ।”
केही दिनयता बेला–कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले उपभोक्ता दिक्क बनिरहेका छन् । हल्का वर्षात् भएलगत्तै यस्तो समस्या सुरु हुने गर्दछ । जिल्लाको ग्रामिण क्षेत्र साथै बजार क्षेत्रका धेरै स्थानमा बिजुली आउने र जाने भइरहेको छ । “साँझमा इन्डक्सनमा भात बसालेपछि फ्याट्ट बत्ती गयो । आयो, गयो अनि फेरि आयो । भात कच्मचियो, तरकारी पनि भुट्दाभुट्दै सेलायो,” कमलामाई नगरपालिका ४ ढुंग्रेबासका दिलु बस्नेतले भन्नुभयो, “लोडसेडिङ त हटिसक्यो, यो झ्याप्प समस्या पनि प्राधिकरणले हटाइदिन पर्यो ।” कति उपभोक्ता थन्क्याएको इन्भर्टर पनि पुन प्रयोगमा ल्याउन बाध्य भएका छन् भने कति नयाँ किन्ने पनि सोचिरहेका छन् । कमलामाई नगरपालिका ६ का दिनेश गौतम भन्नुहुन्छ “बिजुली यसरी नै आउनेजाने भइरहने हो भने इन्भर्टरको जोहो गर्नैपर्ने भयो ।”
विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसधारणलाई ५ मिनेटमात्र पनि बत्ति जाँदा सकस हुन्छ । अझ पछिल्लो समयमा प्राधिकरणले बिजुलीको खपत बढाउन इन्डक्सनसहित विद्युतीय उपकरणको प्रयोग गर्न ग्राहकलाई आग्रह गर्दै आएको छ । त्यसमा भर परेर इन्डक्सन प्रयोग गर्न थालेका उपभोक्ता प्राधिकरणसँग क्रुद्ध भएका छन् । सिन्धुलीमाढीका अनिसा कार्की भन्नुहुन्छ, “अहिले नै ग्यास चटक्कै छाडेर इन्डक्सनमा जाँदा भोकै बस्नुपर्ने अवास्था आउने डर हुने रहेछ,।” अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा बढी व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ ।
वर्षाको केही महिना पनि यस्तै समस्या देखिएको थियो । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन ट्रिपिङ हुनु स्वभाविक भए पनि सिमसिमे पानी परेलगत्तै लाइन जानुलाई सर्वसधारणले अस्वभाविक मानेका छन् । जानकारी विना पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको सिन्धुलीमाढीका सन्तोष सापकोटा बताउनुहुन्छ । “जानकारी बिना नै बत्ती गइरहन्छ । मर्मत गरिरहेको साथै विग्रेको जानकारी पाए पुर्व तयारी गर्ने थियौँ । यसरी अस्वभाविक रुपमा बत्ती गइरहदाँ हैरान भएका छौँ ,” उहाँले भन्नुभयो ।
नियमनकारी निकाय प्राधिकरणले भने बर्खा समय भएकाले अहिले विजुली गइरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ । टाढाबाट विजुली आपूर्ती गर्नुपर्ने र बीच बीचमा आउने समस्याले गर्दा विजुली जाने आउने भैरहने विद्यूत प्राधिकरण सिन्धुली वितरण केन्द्रले जनाएको छ । ट्रान्समिटर पडकिने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढि पहिरोले पोल ढाल्ने र न्यून भोल्टेजको बिजुली आउने लगायतका समस्या रहेको प्राधिकरण नै स्वीकार छ ।