शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अवैध क्रसर व्यवसायीको दादागिरी : खोला–नदीको दोहन र प्रशासनको मौनता

आइतवार , बैशाख ७, २०८२

सिन्धुली,– सिन्धुली जिल्लाको भौगोलिक बनावट, हरियाली पहाड र जीवनदायिनी खोला–नदीहरू आज क्रसर व्यवसायीहरूको लालच र लापरवाह प्रशासनको चुप्पीका कारण संकटमा परेका छन् । जिल्लाभर फैलिएका अवैध क्रसर उद्योगहरूको दादागिरी, प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन, र कानूनको धज्जी उडाइएको दृश्यले ‘विकास’ को नाममा विनाशको कथा बन्दै गइरहेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा मात्र १९ वटा क्रसर संचालनमा छन् । त्यसबाहेक गोलन्जोर गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा एक दर्जनबढी क्रसर संचालनमा छन् ।

ति क्रसर अवैध र मापदण्ड विपरित रहेको छ । सिन्धुलीमा संचालन भएका क्रसरहरु बालुवा प्रशोधनका लागि भन्दै स्वीकृति लिएपनि ठूला क्रसर जडान गरेर संचालन भइरहेको पाइएको छ ।

कागजमै मात्र प्रतिबन्ध, व्यवहारमा तस्करीजस्तै उत्खनन 

जिल्लामा सञ्चालित अधिकांश क्रसरहरूले वातावरणीय प्रभाव मूल्याङ्कन(EIA) वा प्रारम्भिक वातावरणीय परीक्षण (EIA) बिना नै खोला तथा नदीबाट ढुंगा, गिट्टी, बालुवा उठाउने कार्यलाई तिव्रता दिएका छन् । खोला किनार, फाँट, र बस्तीहरूसम्म प्रभावित बनाउँदै खुलेआम क्रसरहरू सञ्चालन भइरहेका छन् ।

प्रशासनले प्रतिबन्ध लगाएको देखिन्छ, तर त्यो प्रतिबन्ध ‘फाइलको पानामा मात्र’ । जिल्लाका प्रमुख सडकहरूमा रातको समयमा टिपरहरूको बाक्लो चलहपहलले प्रस्ट देखाउँछ—उत्खनन रोकिएको छैन, बरु ‘सम्झौतामा’ चलेको छ ।

प्रशासन–क्रसर गठबन्धन :

स्थानीयवासीहरूका अनुसार क्रसर सञ्चालकहरूले प्रशासनिक निकायहरूसँग आर्थिक चलखेलमार्फत अवैध क्रियाकलापलाई वैधता दिने प्रयास गर्दै आएका छन् । वर्षेनी ‘कागजी कार्यवाही’ देखाएर वास्तविक नियन्त्रण नगर्ने प्रवृत्तिको गुनासो स्थानीयवासीमा छ ।

खोला किनारमा बसोबास गर्ने कमलामाई नगरपालिकाकी ६५ वर्षीया मनकुमारी भन्नुहुन्छ, “कागजमै सबै क्रसर नियन्त्रणमा छन् भनिन्छ, तर रातको समयमा टिपरहरू खोला सिद्याउँछन् । अनुगमन भनेको फोटो खिचेर फर्किने काम मात्र हो ।”

सुनकोशी गाउँपालिका–३ का एक जनप्रतिनिधिले नाम नखुलाउने सर्तमा भने, “सबै तहमा सेटिङ मिलाएर मात्रै क्रसर चल्छ । प्राविधिक निरीक्षण आउँछ, तर बुझाउने कागज पहिले नै तयार हुन्छ ।”

खोला र नदीको दोहनः प्राकृतिक स्रोतमा संकट, जनजीवनमा गहिरिँदो असर ः

क्रसर व्यवसायीहरूले बालुवा, गिट्टी, ढुंगा जथाभावी खनन् गर्दा स्थानीय खोलाको प्राकृतिक प्रवाह परिवर्तन भएको छ । नदीको धार बिस्तारै गाउँतिर फर्कन थालेको छ, जसले बाढीको सम्भावना बढाएको छ । यस्तै माटो कटानले कृषियोग्य जमिनमा क्षति पुर्याएको छ भने वनस्पति र जीवजन्तुको बासस्थान पनि संकटमा परेको छ ।

नदी किनारका बोटबिरुवा मासिँदा जमिन बाँझो हुँदै गएको छ । यस्ता क्रियाकलापले दीर्घकालीन रूपमा भू–क्षय बढाउने, जमिनको उर्वरता घटाउने र स्थानीय बासिन्दाको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने खतरा बढेको विज्ञहरू बताउँछन् । बालुवा उत्खनन र क्रसरको अविरल सञ्चालनले गर्दा पानीको स्रोत सुक्दै गएको छ, खोलाहरूको प्राकृतिक प्रवाह फेरिएको छ, र जनजीवनमा प्रत्यक्ष असर परेको छ ।

विकासको नाममा विनाश :

यस्ता क्रसरहरूबाट उत्पादित निर्माण सामाग्रीहरू काठमाडौं उपत्यका, जनकपुर, र बर्दिबाससम्म पुर्‍ इन्छ । त्यसैले यसलाई विकासका लागि आवश्यक भनेर संरक्षण गर्ने प्रवृत्ति बढेको छ । तर विकासका नाममा विनाश गर्दा स्थानीय समुदाय, जैविक विविधता, र वातावरणीय सन्तुलन धरापमा परेको अवस्था देखिन्छ ।

खोला बगिरहून्,जनजीवन बग्न नदिनुहोस्

सिन्धुलीमा आज खोला र नदी त बगिरहेका छन्, तर उनीहरूको धारमा लिप्सामा बगिरहेको छ शासन । प्रकृतिको विनाश गरेर गरिने कुनै पनि विकास दीर्घकालीन हुँदैन । अब समय आएको छ—नारा होइन, कारबाहीको ।

सिन्धुलीमा क्रसर व्यवसायीको गलअयलतचिियभम दादागिरीले केवल प्रकृति होइन, जनताको भरोसा पनि दोहन गरिरहेको छ । यदि अब तत्काल कडा कदम चालिएन भने, भविष्यमा यो जिल्लाको पर्यावरणीय सन्तुलन, कृषि उत्पादन र जनजीवनमा अपूरणीय क्षति पुग्ने निश्चित छ । समयमै चेतना नलिए, खोलाले मात्र बगाउने होइन, गाउँले पनि विस्थापित हुने अवस्था आउनेछ ।

यदि अवैध क्रसरको दादागिरी, प्रशासनको मौनता र प्राकृतिक स्रोतको दोहनलाई आजै रोकिएन भने, भोलिको सिन्धुली — न त हरियाली रहनेछ, न त खोला बग्नेछ ।

प्रतिक्रिया