शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ‘महोत्सवको व्यापार’ ः अराजकता, सरकार मौन

सोमवार , बैशाख १, २०८२

सिन्धुली–सिन्धुली जिल्लामा पछिल्ला केही वर्षयता ‘महोत्सव’को नाममा आयोजित मेला अस्वाभाविक वृद्धि भएको छ । कुनै नीति, मापदण्ड र उद्देश्यबिना जथाभावी महोत्सव सञ्चालन भइरहेका छन् । यस्ता महोत्सवले स्थानिय अर्थतन्त्र, स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान दिन नसकेको स्थानियले गुनासो गरेका छन् । महोत्सवको नाममा स्थानीय जनतालाई झुक्याउने र व्यापारीको नाफा कमाउने , सडक अस्तव्यस्त बनाउने, ध्वनि प्रदूषण फैलाउने र असुरक्षा सिर्जना गर्ने माध्यम बन्दै गएको कमलामाई नगरपालिका ५ का सरोज देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “न योजना, न पारदर्शिता, न मापदण्ड । जसको जहाँ मन लाग्यो, त्यहीँस्टेज ठड्याएर ‘महोत्सव’ नाममा व्यापारीको व्यापार चलिरहेको छ । स्थानिय प्रशासन आँखा चिम्लेर कुर्सीमा रमाइरहेको छ, मूकदर्शक बनेर बसेका छन् ।” प्रशासन मौन छ वा मिलेमतोमा छ ? प्रश्न गर्दैै उहाँले भन्नुभयो महोत्सवको नाममा ठगिको धन्दा रोक्नु पर्छ ।

कमलामाई नगरपालिका ५ कै समाजसेवी उमा न्यौपाने भन्नुहुन्छ, “हामीले पटक–पटक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्यौं तर जवाफ एउटै आउँछ, ‘अनुमति दिइसक्यौं, कार्यक्रम सकिए पछि मूल्यांकन हुन्छ ।’ मूल्यांकन त कहिल्यै हुँदैन, अनि वर्षेनी उस्तै समस्या दोहोरिन्छ ।”

स्थानीय तहका जनप्रतिनिधि पनि ‘आयोजकले बजेट ल्याउँछ, पर्यटन बढाउँछ’ भन्ने बहानामा मौनछन् । तर त्यो बजेट कहाँ जान्छ, त्यसको लेखा जोखा छैन । आयोजक समितिमा राजनीतिसँग नजिक रहेका अनुहार देखिनु पनि संयोग मात्र हैन ।

संस्कृतिको नाममा ठगी, सत्ताको संरक्षण?

सांस्कृतिक संरक्षणको नाममा जब निजी स्वार्थ र अवैध लाभ जोडिन्छ, तब त्यो संस्कृति होइन—व्यापार बनेको एक स्थानियले बताउँछन् । “कुन संस्कृति झल्किन्छ जब अस्पताल छेउमा तेज आवाजमा गीत बजाइन्छ? कसरी संरक्षण हुन्छ जब स्कुल अगाडि स्टेज राखेर पढाइ अवरुद्ध गरिन्छ ? के यही हो संस्कृतिको प्रवद्र्धन ? यस्ता महोत्सवहरूमा राजनीति, व्यापार र प्रशासनबीचको गठबन्धनले गलत अभ्यासलाई संरक्षण गरेको छ । खुलेआम स्टल बिक्री हुन्छ, कर नतिर्ने व्यापार फस्टाउँछ, अनि सबैले आँखा चिम्लन्छन् ।”

सिन्धुलीउद्योग वाणिज्य संघका एक पदाधिकारीले भन्नुभयो, “कतिपय महोत्सवहरू निजीव्यक्तिले मनलाग्दी समिति बनाएर, कुनै नीति नियमबिना आयोजना गरेका छन । नव्यापार दर्ता, न लेखापरीक्षण, न त राजस्व नै । तर पनि प्रशासन टुलुटुलुहेर्छ ।” कुनै ठोस मापदण्डबिना खोलिएका यस्ता कार्यक्रमहरूले स्थानीय शान्ति, संस्कृति र अर्थतन्त्रतीनै तहमा नोक्सान पुर्याइरहेका छन् । स्थानीयसरकारले यस्ता नाम मात्रैको महोत्सव’ रोक्न नीति बनाउने बनाउनुपर्ने स्थानियको सुझाब छ । जनताको शान्ति र सुरक्षा सस्तो मनोरञ्जनमा साटिने कार्य रोक्नुपर्ने उनीहरुले बताएका छन् ।

 

 

प्रतिक्रिया